गण्डकी प्रदेश

मध्यपहाडीमा कालोपत्रे तयारी

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा कालोपत्रेको तयारी भएको छ । यो हिउँदमा ‘ग्राबेल’ र अर्को वर्ष मङ्सिरभित्रमा कालोपत्रे सक्ने आयोजनाको लक्ष्य छ । कालोपत्रेको लागि पूर्वाधार तयारीको काम भइरहेको लोकमार्गका इञ्जिनीयर सुरज महर्जनले बताए।

सडक चौडा गर्ने, पहिरो नियन्त्रण, पर्खाल, नाली निर्माणलगायतका काम धमाधम भइरहेका छन् । जिल्लामा पर्ने १४२ किमी सडकमध्ये सदरमुकामदेखि घोडाबाँधेसम्म २५ किमी र बुर्तिबाङदेखि पूर्वी रुकुम सीमा पातीहाल्नेसम्म ४५ किमी कालोपत्रे हुन बाँकी छ । घोडाबाँधे–बुर्तिबाङ ६४ किमी भने कालोपत्रे भइसकेको छ ।

विसं २०५४ मै मार्ग खोल्न शुरु भएको सडक बल्ल कालोपत्रे हुने भएको हो । बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमी ‘सिद्वीटाइ कन्सट्रक्सन’ र घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा ‘सूर्य कन्सट्रक्सन’ले लिएको छ । त्यस्तै बुर्तिबाङदेखि पूर्वी रुकुम सीमा पातीहाल्नेसम्मको ४५ किमी ‘कालिका प्यासेफिक’ र ‘इसिआर÷कन्काइ’ निर्माण कम्पनीको जिम्मामा छ ।

उक्त खण्डको २४ किमीमा ‘ग्राबेल’ भइसकेकाले कालोपत्रे छिटो हुने भएको छ । सदरमुकामपट्टिको खण्डमा पनि काम तीव्रगतिमा अघि बढेको ठेकेदार कम्पनीले जनाएका छन् । केही वर्षअघि नै कालोपत्रे भइसक्नुपर्ने उक्त खण्ड ठेकेदार कम्पनीकै लापरबाहीले ढिलो भएको हो । लोकमार्ग आयोजनाले ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी हटाएर नयाँलाई जिम्मा दिएको हो ।

सदरमुकामतर्फकै सडक निर्माणमा भएको ढिलाइले जनगुनासो पनि बढेको थियो । “अहिले भइरहेको काम हेर्दा केही आशा पलाएको छ” काठेखोला गाउँपालिका–५ का शिवलाल कँडेलले भने, “कालोपत्रे छिट्टै होस् भन्ने हाम्रो माग छ ।” कालोपत्रे नहुँदा हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्नुपर्ने बाध्यता स्थानीयवासीमा छ ।
जिल्लामा पर्ने लोकमार्गका १४ मध्ये ११ पुल बनिसकेका छन् । बुर्तिबाङको भुजी र बागलुङ नगरपालिकाको खहरे खोलामा निर्माणाधीन पुल पनि अन्तिम चरणमा छन् । जिल्लाको मेरुदण्ड मानिएको लोकमार्ग कालोपत्रे हुँदासाथ यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने ठानिएको छ । नेपालको पूर्व–पश्चिम जोड्ने लोकमार्गले बागलुङको सबैभन्दा बढी १४२ किमी दूरी समेटेको छ ।