गण्डकी प्रदेश

बालिका हत्याको अभियोगमा एक पक्राउ

पोखरा । पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति सोही टोलको रहेको बुझिएको छ । यस घटनाको अनुसन्धानको क्रममा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।

पोष्टमार्टमको रिपोर्ट प्राप्त नभएकाले हत्यालगायत अन्य घटनाको विषयमा अहिले बताउन नसकिने उनले बताए । सोमबार साँझ ६ बजे नजिकको पसलमा बिस्कुट खरिद गर्न निस्केकी ती बालिका घर नफर्केपछि मङ्गलबार बिहान आफन्तले खोजी गर्दा घरनजिकको खोल्सा छेउको झाडीमा घोप्टो परेको मृतावस्थामा भेटिएको थियो ।
बाबुले दोस्रो विवाह गरेपछि मामाघरमा बस्दै आएकी उनी स्थानीय आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् ।