राजनीति

गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बदल’सँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले मङ्गलबार शिष्टाचार भेट गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको शिक्षा, प्रविधिलगायतको क्षेत्रमा पाकिस्तानको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरे।

राजदूत जावेदले सुरक्षाको क्षेत्रमा समेत थप सहयोग आदानप्रदान गर्न सकिने भेटमा बताएका थिए । उनले नेपालमा पनि पाँच वर्षका लागि स्थायी सरकार बनेको र पाकिस्तानमा पनि भर्खरै पाँच वर्षका लागि सरकार बनेकाले दुई सरकारबीच दिगो सहकार्यका लागि अहिले उपयुक्त वातावरण बनेको टिप्पणी गरे ।

नेपाल र पाकिस्तानबीच सांसद तथा युवाको भ्रमण आदानप्रदानका लागि तयारी भइरहेको र यसले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । भेटमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सम्मेलनको विषयमा समेत छलफल भएको थियो ।