साहित्य

ग्लोबल सिटिजन

[clear]

-बीरभद्र आचार्य

यो माटोले दियो जन्म तिमीलाई
यो माटोको नै हो ऋण तिमीलाई
बाबुमा शुक्रकीट भएर हुर्कियौ
आमाले मनुष्य चोलामा हुर्काइन् ।

आयौ त कहाँबाट आयौ
कुनै नक्षत्र वा कुनै ग्रहबाट ?
फेरी आकाश पनि होइनौ तिमी
न त चन्द्रमा ने हौ तिमी

गौरव गर्छौ तिमी आफ्नो विचार शक्तिको
एक पटक सोचेर हेर त्यो विचारको जन्मदाता ?
हो त्यही माटो नै हो तिम्रो सम्पूर्ण विचार
हो त्यही माटो नै हो तिम्रो गौरवको आधार

नपत्याए सोध नारायणीलाई ?
हिजो भर्खर पो नारायणीले भनिन् मलाई

तिम्रो प्राण तत्त्व पनि माटो नै हो
तिम्रो विचारसक्ती पनि माटो नै हो
यो माटोको उर्वर शक्ति नै
तिम्रो विचारमा भएको नविनता हो ।

फुर्ती गर्छौ, म कुनै एक देशको नागरीक होइन भनेर
तर तिम्रो त्यही वाक्यमा तिम्रो हीनता लुकेको देखेनौ ।
सक्छौ भने गर्वसाथ भन, अव म नेपाली होइन भनेर
थियो होला कुनै बाध्यता गयौ परदेश
तर नझुक्याउ आफूलाई म अव ग्लोबल सिटिजन भएँ भनेर ।

नारायणीले फेरी भनिन् सवैले सुन्नेगरी !
पहिचान हराएको मान्छे ।