समाचार

पर्यटकीय क्षेत्रको विकास नै समृद्धिको आधार हो: कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास नै समृद्धिको आधार भएको बताए ।

यहाँको टोखामा आज आयोजित सांस्कृतिक बाजा हस्तान्तरण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पोखरेलले संस्कृतिकको संरक्षण र संवद्र्धन गर्दै समृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्र निर्माण तथा आर्थिक विकास अहिलेको आवश्यकता रहेको भन्दै उनले तीन तहका सरकार एकआपसमा सहकार्य र समझदारीका साथ एक ढिक्का भई अघि बढ्नुको कुनै विकल्प नभएको जिकिर गरे ।

न्यायिक समानता वर्तमान संविधानले नै लिपिबद्ध गरेकाले आगामी दिनमा कसैले अधिकारको निम्ति सडक आन्दोलन गर्नु नपर्ने उनको भनाइ छ । पोखरेलले संविधानले महिला, दलित, जनजाति, आदिवासी, पिछडिएको वर्ग, लोपन्मुखजस्ता समुदायको मागलाई सम्बोधन गरेको बताए ।

विभिन्न प्रकारका संविधान विरोधी गतिविधि भइरहेको बताउँदै उनले संविधान परिवर्तित भएकाले आवश्यकताअनुसार सरकार संविधान संशोधन गर्न सरकारले छलफल तथा वार्ता गर्न जुनसुकै समय तयार रहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री पोखरेलले सांकृतिक संवद्र्धन तथा संवद्र्धनका लागि सांस्कृतिक बाजागाजाहरु वितरणसमेत गरे । ती बाजामा चार थान खि, पाँचथान पछिमा, छ थान मादल, एक थान धिमे, एक थान भुस्या, कोखी एक थान, झ्याली छ थान, छ थान ताय, झ्याम्टा दुई थान थिए ।