अन्तर्राष्ट्रिय

सिरियाको इडलीबमा सैनिक तैनाथी

साराकिब, सिरिया । टर्कीले सिरियाको विद्रोहीको कब्जामा रहेको इड्लीब प्रान्तमा मङ्गलबार थप सैनिक पठाएको छ । अङ्कारा र मस्कोबीच इड्लीबमा तत्काल सैन्य कारबाही नगर्ने सहमति भएलगत्तै टर्कीले इड्लीबमा सैनिक तैनाथी बढाएको हो ।

इड्लीबको दक्षिणमा रहेको साराकिब सहरको मुख्य सडकमा करिब ३५ वटा सैनिक गाडीहरु प्रवेश गरेका थिए । सैनिक सवारीलाई अङ्कारा निकटस्थ नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ) समर्थक विद्रोहीले पनि सुरक्षा दिएका थिए । यी विद्रोहीले टर्कीसँगको सिमानाका केही सिरियाली क्षेत्रमा नियन्त्रण गरिरहेका छन् ।

गत वर्षदेखि टर्कीले विद्रोही इलाकामा १२ वटा अनुगमन स्थलहरुमा सैनिक तैनाथ गरेको छ । टर्की, रसिया र इरानबीचको सहमतिमा टर्कीले यी पोष्टहरु राखेको छ ।

गत साता, अङ्कारा र मस्कोले गैरसैनिक क्षेत्र निर्माण गर्नेसम्बन्धी सम्झौता गरेका थिए । सिरियाको पूर्व अलकायदासँग निकटस्थ जिहादी गठबन्धन हायात तहरिर अल–शामले विद्रोही क्षेत्रको आधाभन्दा बढी भूभाग कब्जामा राखेको छ भने एनएलएफका लडाकूले बाँकी क्षेत्रमा कब्जा गरेका छन् ।

पछिल्लो सम्झौतामा विद्रोहीले अक्टोबर १० भित्रमा आफूसँग रहेका सबै भारी हातहतियार टर्कीलाई सुम्पने तथा अक्टोबर १५ भित्रमा सबै अतिवादी क्रियाकलाप बन्द गर्ने उल्लेख छ ।

सम्झौतामा टर्की र रुसी सेनाले असैनिक क्षेत्रमा गस्ती गर्ने उल्लेख छ ।

सन् २०११ मा शुरु भएको सिरियाको गृहयुद्धमा ३ लाख ६० हजारभन्दा बढी मानिस मारिनुका साथै करोडौं मानिस विस्थापित भएका छन् । –एजेन्सीको सहयोगमा