शिक्षा

त्रियुगा जनता बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने

गाईघाट । तत्कालीन सगरमाथा अञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पसको रुपमा २०४४ सालदेखि स्थापना भई सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट मोतिगडामा अवस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस अब प्रदेश नं १ को विश्वविद्यालय बनाउने तयारी शुरु भएको छ ।

गत आइतबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले त्रियुगा जनता बहुमुखी क्याम्पसको नवौं साधारणसभाको उद्घाटन गर्दै सो क्याम्पसलाई प्रदेश नं १ को नै विश्वविद्यालय बनाउने घोषणा गरेपछि अहिले विश्वविद्यालयको रुपमा क्याम्पसलाई विकास गर्नका लागि विज्ञ र प्राविधिक टोलीले अध्ययन कार्यका लागि तयारी भएको छ ।

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका क्याम्पस प्रमुख रमेशचन्द्र रोकाका अनुसार प्रदेश नं १ का मुख्यमन्त्रीले नै यस क्याम्पसलाई प्रदेश नं १ को विश्वविद्यालय बनाउने चाहना र इच्छा प्रकट गर्नुभएका कारण पनि अहिले यसका लागि प्राविधिक र विज्ञ टोलीले पहिलोपटक अध्ययन कार्यको लागि तयारी गर्ने रहेको क्याम्पस प्रमुख रोकाले बताए । अध्ययन टोलीका लागि प्रदेश सरकारको तर्फबाट शिक्षा विभाग हेर्ने टोली, त्रिभुवन विश्वविद्यालयका केही विज्ञ र क्याम्पस प्रशासनसहितको सहभागितामा अध्ययन कार्य गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख रोकाले बताए । यस विषयमा क्याम्पसका व्यवस्थापन समितिका सदस्य महेन्द्रकुमार राईकाअनुसार सो क्याम्पस सगरमाथा अञ्चलकै पहिलो र पुरानो सामुदायिकस्तरबाट सञ्चालन भएको र यसको भौतिक पूर्वाधारसमेत राम्रो रहेकाले यसलाई विशवविद्यालयको रुपमा विकास गर्न सकिने धारणा राखे ।

पाँच बिगाहा क्षेत्रफलको जग्गाभित्र अव्यवस्थित उक्त क्याम्पसको चौध भवनसहित एक नं प्रदेशकै उत्कृष्ट पुस्तकालय, वातावरणमैत्री स्थानलगायत भौतिक पूर्वाधारको हिसाबले पनि उत्कृष्ट रहेका कारण प्रदेशस्तरको विश्वविद्यालय सञ्चालन गर्नअनुकूल रहेकाले आफूहरु र प्रदेश सरकारको चाहना, सहयोगमा यो क्याम्पस प्रदेशको विश्वविद्यालय सञ्चालन गर्न उपयुक्त रहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रकुमार बस्नेत बताए ।

हाल यस क्याम्पसमा मानविकी, शिक्षा सङ्काय र व्यवस्थापनसहित केही प्राविधिक विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुँदैआएको छ । सो क्याम्पसमा खोटाङ, ओखलढुङ्गा, सोलु उदयपुरसहित सिरहा र सप्तरीबाटसमेत यो क्याम्पसमा विद्यार्थी अध्ययन गर्न आउने गर्दछन् । हाल एक हजार ७०० भन्दा बढी विद्यार्थी यस क्याम्पसमा अध्ययनरत छन् ।