स्वास्थ्य

मलेरियाका चार बिरामी फेला

नवलपरासी । पश्चिम नवलपरासीमा पछिल्लो तीन महीनामा मलेरियाका चार बिरामी फेला परेका छन् । तीमध्ये दुई महिला छन् । साथै एक तीनवर्षीय बालक र एक सुनवल नगरपालिकास्थित सिमेन्ट उद्योगमा ज्यालादारीमा काम गर्ने भारतीय रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

पश्चिम नवलपरासी जिल्ला स्वास्थ्य कार्यालयका मलेरिया इन्स्पेक्टर गौरीशङ्कर प्रसादका अनुसार जिल्लाका सुनवल नगरपालिका, सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका तथा प्रतापपुर गाउँपालिकाका क्षेत्रबाट मलेरियाका बिरामी फेला परेका छन् । रोगको सङ्क्रमण देखापर्ने सम्भावित स्थानमा सतर्कता अपनाउन आवश्यक देखिएकाले सोहीअनुसार कार्यालयले काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अरुणकुमार महतोले जानकारी दिए ।

हाल पश्चिम नवलपरासीका चार वटै स्थानीय तह मलेरियाको उच्च जोखिममा परेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा पश्चिम नवलपरासीमा सात र पूर्वी नवलपरासीमा २१ गरी दुवै जिल्लामा मलेरियाका २८ बिरामी फेला परेका थिए ।