समाचार

विपद् व्यवस्थापन सम्बन्धि अभ्यास सुरु

कठमाडौं । नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको युएसआर्मी पेसिफिक को संयुक्त आयोजनामा होटल याक एण्ड यतिमा संचालन हुने Disaster Response Exercise and Exchange (DREE) अन्तरगत अभ्यास युनाईटेड अफ ईफोट आईभीको मंगलबार प्रधानसेनापति पूर्णचन्द्र थापाले विशेष समारोहका बीच शुभारम्भ गरेका छन् ।

यस किसिमको संयुक्त अभ्यासले प्राकृतिक विपदमा छोटो समयभित्र गरिने उद्धार कार्य तथा जनधनको न्युनतम क्षतीको लागि अपनाईने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यास गरी क्षमता अभिबृद्धि गर्न मद्दत पुर्‍याउने छ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैह्रसरकारी संस्थाहरुबीच एकैसाथ भूकम्प लगायत अन्य विपद् व्यवस्थापन कार्य गर्न सक्ने क्षमताको अभिबृद्धि गर्नु यस अभ्यासको उद्देश्य रहेको छ । अभ्यासको दौरान खोज र उद्धारको प्रयास तथा घाईतेहरुको उपचार प्रक्रिया सम्बन्धी काल्पनिक परिस्थिति अनुसारको अभ्यासहरु श्री उपत्यका पृतना हे।क्वा। परिसर लगायत अन्य विभिन्न स्थानहरुमा संचालन हुनेछ ।

मित्रराष्ट्र अमेरिका, बंगलादेश, बेलायत, बेल्जियम, चीन, क्यानडा, डेनमार्क, ईजरायल, भारत, माल्दिभ्स, फिलिपिन्स, सिंगापुर र श्रीलंका गरि जम्मा १३ देशका ६४ प्रतिनिधिहरु यही असोज १२ गतेसम्म संचालन हुने यस अभ्यासमा सहभागि रहेका छन् । साथै उक्त अभ्यासमा नेपाल सरकारका बिभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकायहरु, विभाग, रेडक्रस लगायत विपद् ब्यवस्थापनमा कार्यरत संघ, संस्थाहरुको समेत गरि २३८ जनाको सहभागिता रहेको छ । विपद व्यबस्थापन सम्बन्धि यस्तो अभ्यास नेपालमा सन् २०११ बाट नेपाली सेनाले गर्दै आएको छ ।

उक्त कार्यक्रमको दौरान नेपाली सेनाका प्रधानसेनापति थापाले कार्यक्रमको शुभारम्भ सम्बोधन गर्नुको साथै नेपाल सरकारका गृह सचिव प्रेम कुमार राई, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक संजीव गौतम र नेपाल स्थित अमेरिकी राजदुतावासका माईकल सी गोन्जालेस ले आ–आफ्नो मन्तव्य राखेका थिए ।

साथै उक्त अभ्यासको समुद्घाटन कार्यक्रममा बलाधिकृतरथी श्री हेमन्त राज कुंवर, अन्य सुरक्षा निकायका प्रमुखहरु, रथीबृन्द, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारी, संचारकर्मी लगायत अन्य विभिन्न सरकारी तथा गैह्रसरकारी संघ संस्थाका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।