सुदूरपश्चिम

अवरुद्ध पाटन–पञ्चेश्वर सडक सञ्चालन

बैतडी । पहिरोका कारण गए रातिदेखि अवरुद्ध बैतडीका पाटन–पञ्चेश्वर सडक सञ्चालन आएको छ । लगातारको वर्षाले पाटन नगरपालिकाको घाङल खोलामा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडक डिभिजन, सडक कार्यालय पाटनको स्काभेटरले पन्छाएपछि सञ्चालन भएको हो । मध्याह्नपछि सडक सञ्चालन भएसँगै यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

यस्तै बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसालीस्थित पहिरो जाँदा गए रातिदेखि नै अवरुद्ध बनेको महाकाली राजमार्ग बिहान ७ बजेपछि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।