पर्यटन/संस्कृति

पोखरा पर्यटन परिषद्को अध्यक्षमा पोखरेल

कास्की । पर्यटन सङ्घसंस्थाको छाता संस्था पोखरा पर्यटन परिषद्को अध्यक्षमा चिरञ्जीवी पोखरेल सर्वसम्मत निर्वाचित भएका हुन् । परिषद्को सोमबार सम्पन्न १८औँ साधारणसभा तथा १०औँ अधिवेशनले पोखरेलको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा गोपीबहादुर भट्टराई, महासचिवमा डिल्लीप्रसाद गौतम, सचिवमा तारानाथ पहारी चयन भएका छन् ।

सदस्यहरुमा कृष्णप्रसाद भण्डारी, रामजी घिमिरे, रामचन्द्र शर्मा छन् । परिषद्को पहिलो बैठकले तीन सदस्यमध्येबाट एकलाई कोषाध्यक्षमा मनोनित गर्ने नवनियुक्त अध्यक्ष पोखरेलले जानकारी दिए । अधिवेशनको अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आउने मङ्सिरसम्ममा पर्यटकीय शहर पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने सरकारको तयारी रहेको बताए। गण्डकी प्रदेशका सांसद राजीव पहारीले फेवाताललाई जोगाउन सकेमात्र पोखराको पर्यटनको भविष्य रहेकोमा जोड दिएका थिए।