उर्जा

आयोजनाका लागि थप जग्गा अधिग्रहण गरिने

दमौली । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि थप ५० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाले व्यास नगरपालिका–५ स्थित वेतेनीमा थप जग्गा अधिग्रहण गर्नेछ ।

आयोजनाको ड्याममा जाने प्रवेशमार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले जानकारी दिए। उक्त जग्गा अधिग्रहणका लागि रु ७ करोड ७५ लाख विनियोजन गरिएको छ ।

जग्गाको प्रकृति हेरेर जग्गाको मूल्यसमेत निर्धारण भइसकेको र यही असोज १० गतेदेखि मुआब्जा वितरण गरिने छ । उनका अनुसार त्यस ठाउँको जग्गा अधिग्रहणका लागि प्रतिरोपनी रु ९ लाख ५० हजारदेखि २० लाखसम्म मूल्य निर्धारण गरिएको छ । त्यस्तै पहिरोमा परेको जग्गाका लागि प्रतिरोपनी रु दुई लाख ४० हजार निर्धारण गरिएको छ । जग्गा अधिग्रहणबाट ६० घरपरिवार प्रभावित हुनेछन् ।

हालसम्म ६७ करोड वितरण

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई अहिलेसम्म रु ६७ करोड मुआब्जा वितरण गरिसकेको छ । अब रु ५ करोड मुआब्जा वितरण गर्न बाँकी छ । आयोजना निर्माणबाट डुबानमा पर्ने ३०० भन्दा बढी घरपरिवारलाई मुआब्जा रकम वितरण गरिएकोे छ ।

आयोजनाले जग्गाको मात्रै नभई घर टहरा, गोठ तथा रुख बिरुवाको समेत मुआब्जा तथा क्षतिपूर्ति वितरण गरेको छ । आयोजनाको जलाशय क्षेत्रमा एक हजार २०० रोपनी निजी जग्गा अधिग्रहण गर्नेछ । आयोजनाका लागि ४१९ हेक्टर सरकारी जग्गा अर्थात वन क्षेत्र अधिग्रहण गर्नुपर्नेछ । कम्पनीले २०७३ फागुन ५ देखि मुआब्जा वितरण शुरु गरेको थियो । २५ किलोमिटर क्षेत्रसम्म आयोजनाको जलाशय फैलिनेछ । १४० मिटर अग्लो बाँध निर्माण हुने जालशयको लम्बाइ १७५ मिटर हुनेछ ।