प्रदेश 1

खानेपानी आयोजना शिलान्यास

बनियानी, झापा । कनकाई नगरपालिकामा करीब रु १६ करोडको लागतमा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । कनकाई नगरपालिका–२ जामुनबारीमा ‘जामुनखाडी प्रजापति कनकाई खानेपानी आयोजना’को सोमबार प्रतिनिधिसभाका सांसद एलपी साँबा लिम्बू र प्रदेशसभा सदस्य हिराकुमार थापाले संयुक्त रुपमा शिलान्यास गरे ।

कनकाई नगरपालिका– १ र २ वडाका बासिन्दालाई लक्ष्य गरी सो आयोजना निर्माण थालिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयबाट प्राप्त रु १३ करोड ७५ लाख तथा उपभोक्ताबाट सङ्कलित रु दुई करोडको लागतमा बन्न लागेको सो आयोजना चार वर्षभित्र पुरा गरिनेछ । अहिले यहाँका बासिन्दा इनार र ट्युबवेलको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । आयोजना निर्माण सम्पन्न भए कनकाई–१ र २ का दुई हजार घरधुरीका १२ हजार बासिन्दा लाभान्वित हुने उपभोक्ता समितिका सचिव निर्मल खनालले बताए ।