पर्यटन/संस्कृति

सबै जातिका आफ्नै संस्कृति र चाडपर्व हुनु मुलुककै सम्पति : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

पौराणिककालका खास घटनामा आधारित भएर शुरु भएका यस्ता चाडपर्व कालान्तरसम्म जीवितै हुनु खुशीको कुरा भएको बताउँदै उनले यहाँ सबै जातिका आफ्नै प्रकारका संस्कृति र चाडपर्व सांस्कृतिक सम्पत्ति भएकाले सरकार यस्ता सांस्कृतिक चाडपर्वको संरक्षण र सम्वद्र्धधनमा सकारात्मक रहेको स्पष्ट गरेका छन् ।

प्रधानमन्त्रीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने चाडपर्वले नेपालीलाई एकताको सूत्रमा बाँधेको उल्लेख गर्दै भनेका छन्, “नेपालको यो एकतालाई धुमिल्याउन विभिन्न तत्वले विगतमा गरेका प्रयासलाई नेपाली जनताले परास्त गरेका छन्, नेपालीहरु जाति, धार्मिक, सांस्कृतिक रुपमा एकताबद्ध छौँ भन्ने सन्देश नेपालीहरुले दिएका छन् । यो हाम्रा लागि गौरवको कुरा हो ।”

वर्तमान सरकार आर्थिक विकास र सृमद्ध नेपाल निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको यो अभियानसँग यस प्रकारका सांस्कृतिक महत्व भएका चाडपर्व पनि जोडिन सक्ने बताए । मौलिक विशेषता भएका यस्ता पर्व विदेशी पर्यटक आकर्षणका लागि महत्वपूर्ण सावित हुन सक्ने भएकाले यिनलाई पर्यटनसँग जोडेर पनि हेर्नु उपयुक्त हुने प्रधानमन्त्रीले सन्देशमा बताएका छन् ।