समाचार

बाइस दिनमा भत्कियो सडक ढलान

काठमाडौँ । असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् ।

गत असार २ गते झमझमी पानी पर्दै थियो । यस्तै बेलामा गोकर्णेश्वर नगरपालिका––८ स्थित आरुबारी ओरालोबाट नेपाल मेडिकल कलेज हुँदै माकालबारी निस्कने सडक ढलान गरियो । केही स्थानीयवासीले पानी परेको समयमा सडक ढलान नगरौँ भनेका थिए । नगरपालिकाले गठन गरेको उपभोक्ता समितिले कसैको कुरा नसुनी ओरालाको सो सडक ढलान ग¥यो ।

असार २ गते ढलान गरिएको उक्त सडक असार २४ गते नै भत्किएर डण्डी देखिएको मेडिकल कलेजको अत्तरखेलचोकमा २५ वर्षदेखि फलफूल पसल चलाउँदै आएका माया तामाङले बताए । “निस्किएको डण्डी ठाडो भई धेरैपटक दुर्घटना भइसकेको छ, यस सम्बन्धमा उपभोक्ता समिति र वडा कार्यालयलाई पटक÷पटकभन्दा पनि नसुनेपछि हामी आफैँले डण्डी काट्यौँ, यो सडकको तीन ठाउँमा डण्डी ठाडो भएर दुर्घटनाको जोखिम बढेको छ”–उनले भने ।

नगरपालिका र मेडिकल कलेजको सक्रियतामा सो सडक ढलान गरिएको हो । सडक ढलानका लागि नगरपालिकाबाट रु १६ लाख विनियोजन गरिएको प्रवक्ता एवं ८ नं वडाध्यक्ष मनोजकुमार ढङ्ुगानाले बताए। बीच सडकमा डण्डी ठडिएर दुर्घटनाको जोखिम बढेपछि एकपटक मेडिकल कलेजकै कर्मचारीले आएर काटे । गुणस्तरीय निर्माण सामग्री नहाली ढलान गरिएको, पानी पर्दै गर्दा ढलान गरिएको र ढलान गरेको एक हप्तामै बाटो खोलिएकाले २२ दिनमै सडक जीर्ण बनेको हो । मेडिकल कलेजले सामान लैजान एक हप्तामै बाटो खोलेको हो ।

मेडिकल कलेजका अस्पताल निर्देशक राजेशकिशोर श्रेष्ठ सम्पर्कमा आउन चाहेन । सो क्षेत्रमा बस्ती बढेसँगै वर्षाद्मा परेको पानीको भेल आरुबारीबाट वाग्मतीतिर जाने खहरेलाई सडकका रुपमा विकास गरिएको थियो । पानी परेका बेला सो सडकमा ठूलो भेल आउँछ । सडकको एकातिर नाली बनाइए पनि अर्कोतिर छैन । एकातिरको नाली मेडिकल कलेजले नै पुरेको स्थानीयवासी बताउँछन् ।

कलेजले चोकमा राखेको बत्ती पनि नबल्ने भएकाले राति आकस्मिक सेवामा अस्पतालमा आएका सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । पानी परेपछि सेफ्टी ट्याङ्की पनि सडकमै बग्ने गरेको छ । यसरी बगेको सेफ्टी ट्याङ्कीसहितको ढल सिधैँ वाग्मती नदीमै मिसिन्छ । सडक ढलानका लागि दुई उपभोक्ता समिति गठन गरिएको थियो । अत्तरखेल–सुन्दरीजल मूल सडक माथितिर र तलतिर गरी दुई समिति गठन गरिएको वडाध्यक्ष ढुङ्गानाले बताए ।

माथिल्लो भागको उपभोक्ता समिति अध्यक्ष सुजीतसिंह ठकुरी मेडिकल कलेज र वडाध्यक्षको दबाबमा पानी परेका बेला ढलान गर्दा सडक भत्किएको दाबी गर्छन् । माथिल्लो भागको ढलानका लागि नगरपालिकाबाट रु तीन लाख मात्र छुट्याइएको उनले दाबी गरे । वडा कार्यालयले भने दुई पटक गरी उपभोक्ता समितिलाई रु छ लाख उपलब्ध गराएको जनाएको छ । ढलानका लागि मेडिकल कलेजले दुई हजार किलोग्राम डण्डी र सिमेन्ट उपलब्ध गराएको बताइएको छ ।

अत्तरखेलबाट माकालबारी निस्कने सडक उपभोक्ता समिति अध्यक्ष टेकबहादुर बस्नेत सम्पर्कमा आउन चाहनन् । उक्त सडकका लागि वडा कार्यालयले रु १० लाख बजेट विनियोजन गरेको थियो । सो सडकको पनि ठाउँ ठाउँमा डण्डी देखिएर जीर्ण बनेको छ । गाउँघरकै सिंहदरबारले जनताको विकास निर्माणको सपना पूरा गर्ने आशा गरिए पनि खासै फरक नदेखिएको समता मानवअधिकार तथा नागरिक समाजका अध्यक्ष नोर्साङ शेर्पाले बताए ।

“पहिले र अहिलेको काम गराइमा खास फरक छैन, विकास निर्माणका कामप्रति जनताको चासो अझै बढ्न सकेको छैन, पदमा बस्नेलाई जे गरे पनि हुन्छ, भन्ने भान परेको छ”– उनले भने । ढलान गरिएको सडक २२ दिनमा भत्किएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्याबाट यहाँका बासिन्दा मुक्त हुन सकेका छैनन् । नगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति नेपाल गत वर्षको योजनामा समस्या आएपछि यसवर्ष असोज मसान्तमा सबै योजनाको लागत तयार गरी कात्तिकदेखि कार्यान्वनमा लैजाने निर्णय गरिएको बताउँछन् ।

“विकास निर्माणका काम पानी परेका बेला हतार हतारमा गर्ने गरिएकाले कात्तिकदेखि नै काम गर्ने गरी निर्णय गरिएको हो, चालु आर्थिक वर्षको असारमा विकास निर्माणका काम हुँदैनन्”–उनले भने । आर्थिक वर्षको ११ महिनासम्म चुपचाप बस्ने अनि अन्तिम महिनामा सबै काम सक्ने गलत संस्कृतिको अन्त्य नभएसम्म विकास निर्माणमा विनियोजन गरिएको बजेटको सदुपयोग हुन नसक्ने देखिन्छ ।