लुम्बिनी

प्राथमिकतामा बघौडा क्षेत्रको विकास

नेपालगञ्ज । जिल्लाको दुर्गम क्षेत्र मानिने राप्ती सोनारी र बघौडा क्षेत्रको विकासका लागि यहाँका सांसदहरूले प्राथमिकता दिएका छन् । शहरको तुलनामा गाउँको विकासक्रम सुस्त भएकाले अबको प्राथमिकता ग्रामीण विकास भएको बाँके निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराजले बताए ।

‘‘सदरमुकाम नेपालगञ्ज भन्दा राप्ती सोनारी र बघौडा क्षेत्रको नरैनापुर पचासौं वर्ष पछि परेको छ,’’ उनले भने,“यही गतिमा विकासक्रम अगाडि बढ्ने हो भने शहरको तुलनामा गाउँको विकासमा ठूलो चुनौती देखिने छ ।” सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई सार्थक बनाउन राज्यले दिने न्यूनतम आधारभूत सेवा र सुविधासमेत नपाएका ग्रामीण क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नैपर्नेमा उनले जोड दिए ।

ती दुई गाउँपालिकामा बिजुली बत्ती र सडकको सुविधा पुग्न सकेको छैन । भएको सडक पनि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदै आएको छ । विद्युत् विस्तार र सडकको स्तरोन्नतिलाई चासोका साथ हेरिएको सांसद गहतराजको भनाइ थियो ।

‘‘एकैसाथ सबै कुराको विकास त सम्भव छैन तर हामीले ग्रामीण क्षेत्रको विकासका लागि प्राथमिकता दिएका छौंँ, “उनले भने,“विद्युत् आयोजना र हुलाकी सडक समयमै सम्पन्न गर्न अनुगमन, समन्वय र सहजीकरण भइरहेको छ ।”

निर्वाचनका बेला जनतालाई दिएको आश्वासन यथार्थमा परिणत गर्न आफू लागि परेको जानकारी दिँदै सोही क्षेत्रका प्रदेश सांसद कृष्ण केसीले विद्युत् र सडक विस्तारका क्रममा देखिने समस्या हटाउँदै समयमै योजना सम्पन्न गर्न आफू निरन्तर लागिरहेको दशैँसम्ममा ती गाविसमा बिजुली बत्ती बाल्ने तयारीका साथ काम भइरहेको बताए। नेकपाका नेता अशोक कोइरालाले ग्रामीण क्षेत्रका बस्तीको विकास निर्माणमा ध्यान दिनु जनप्रतिनिधि सबैको दायित्व भएको बताए ।