बाग्मती

पानीका स्रोतका लागि सम्भाव्यता अध्ययन शुरु

ललितपुर । सबै नगरवासीलाई खानेपानी पु¥याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन शुरु गरेको छ । पानीका स्रोतको प्रयोग बढाएर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए। यहाँ हिउँदमा पानीको समस्या बढ्ने गरेको छ । चापागाउँ, डुकुछापमा डिप बोरिङ गर्ने योजना रहेको उनले बताए । कोनाखोला र गोदावरीखोलामा अध्ययन भइरहेको छ । उनले भने, “विस्तृत योजना प्रतिवेदन तयार भइरहेको छ, त्यसको नतिजाका आधारमा काम हुनेछ ।”

नगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सँगको सहकार्यमा पानीको व्यवस्थापन शुरु गरेको हो । त्यसका लागि बजेटसमेत विनियोजन भएको छ । कोनाखोलामा ड्याम निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले यस वर्ष बजेट छुट्याएको छ । नगरपालिकाले नगरवासीको पहिलो नारा ‘घरघरमा पानी सहितको धारा’ नारालाई व्यवहारमा उतार्न लागेको प्रमुख महर्जनले बताए । नगरपालिकाभित्र पानीका साना र ठूला गरेर स्रोतहरु रहेका छन् । उनले भने, “तिनैको प्रयोगबाट सबै नगरवासीलाई पानी पु¥याउन सकिन्छ ।”

नगरपालिकाको ठेचो, बाँडेगाउँ, चापागाउँ लगायतका स्थानमा पानीको समस्या बढिरहेको छ । केही वर्षपहिले सम्म यहाँ पानीको समस्या थिएन । बस्ती बाक्लो हुँदै जाँदा नगरवासीले पानीको अभाव भोग्न बाध्य भएका हुन् । स्थानीय निकाय, प्रदेश र सङ्घको निर्वाचनमा सबै उम्मेदवारले पानी सबैलाई उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए ।