गण्डकी प्रदेश

बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ । म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्रे भिरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा आइतबार साँझदेखि सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

राहुघाट, रुप्से, घाँसा, लेते र काभ्रे भिरमा पहिरो तथा नदी कटानका कारण भदौ २७ गतेदेखि सडक अवरुद्ध भएको थियो । आयोजना प्रमुख सुवेदीका अनुसार नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ र आयोजनाका निर्माण कम्पनीका एक्साभेटर परिचालन गरेर पहिरोले सडक बगाएको ठाउँमा नयाँ ट्र्याक निर्माण गरिएको हो ।

सडक सञ्चालनमा आएपछि बेनीदेखि सिधै जोमसोमसम्म सिधा सवारी सञ्चालन गर्न सकिने भएको आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताए। सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए । मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा समस्या भएको थियो ।

विद्युत् विस्तारका लागि रु पन्ध्र करोड

पहाडी जिल्ला म्याग्दीमा यस वर्ष केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि रु १५ करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।

ऊर्जा तथा जलस्रोत मन्त्रालयले म्याग्दीका दुर्गम तथा ग्रामीण बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवाको पहुँच विस्तारका लागि उल्लेख्य मात्रामा बजेट विनियोजन गरेको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले आइतबार बेनीमा पत्रकारसँगको भेटघाटमा जानकारी दिए ।

विगतका वर्षमा म्याग्दीमा विद्युतीकरण विस्तारका लागि बढीमा रु चार करोडसम्म बजेट विनियोजन हुने गरेकामा यसपालि कम्तीमा रु १५ करोड विनियोजन भएको सांसद थापाले बताए । पुराना र जीर्ण अवस्थामा रहेका काठका पोल विस्थापित गरी फलामे पोल हाल्ने तथा विद्युत् सुविधाबाट वञ्चित दुर्गम ग्रामीण बस्तीमा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तारका लागि बजेट परिचालन हुने सांसद थापाले जानकारी दिए ।