कर्णाली प्रदेश

दुई बालक सरकारी बालगृहमा

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ का दुई बालकलाई सरकारी बालगृहमा पठाइएको छ । जोखिममा परेका एकै घरका दुई बालकलाई बालकल्याण गृह रुपन्देही पठाइएको हो ।

मुसिकोट नगरपालिका–६ का १२ वर्षीय जीतेन्द्र केसी र उनका भाइ सात वर्षीय टीकाराम केसीलाई बालगृहमा पठाइएको बालअधिकार अधिकृत मानवीर ओलीले बताए । मुसिकोट नगरपालिकाको पहल र जिल्ला बालकल्याण समिति रुकुम पश्चिमको समन्वयमा उनीहरुलाई सरकारी बालगृहमा पठाइएको हो ।

जोखिममा रहेका बालकका बाबु बेपत्ता रहेको र आमाले दोस्रो विवाह गरेकाले दुई दाजुभाइ बेवारिसे अवस्थामा रहेका थिए । बेवारिसे अवस्थामा फेला परेका बालकलाई एक महीनादेखि जिल्ला बाल कल्याण समितिले संरक्षण गरेको र दिगो व्यवस्थापनका लागि जिल्लामा ठाउँ नभएकाले बाहिर पठाउनु परेको नगरपालिकाले जनाएको छ ।