कृषि

प्लास्टिक घरभित्र तरकारी खेती

बलेवा । कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना गरिएको पुनःस्थापना केन्द्र बागलुङले प्लास्टिक घरभित्र तरकारी खेती गर्न शुरु गरेको छ ।

कुलतबाट छुटाउन युवालाई कृषि कर्ममा लगाउने उद्देश्यले सो प्लास्टिक घर निर्माण गरिएको हो । कृषि उत्पादनमा अब्बल मानिएका मुलुकमा प्रयोग गरिँदै आएको अत्याधुनिक पलास्टिक घर प्रविधि पुनःस्थापना केन्द्रले भित्र्याएको हो । जापानमा कार्यरत बागलुङका राजन भारी र सिन्धुपाल्चोकका मिङमार शेर्पाले रु सात लाखको लागतमा प्लास्टिक घर निर्माण गरेका हुन् ।

युवालाई कुलतमा फस्न नदिई सुधारको काममा सक्रिय गराउन पुनःस्थापना केन्द्रमा दुई प्लाष्टिक घर निर्माण गरिएको छ । यस प्रविधिबाट बेमौसमी बन्दागोभी, काउली, गाजर, साग तथा गोलभेँडा उत्पादन दोब्बर गर्न सकिने भएकाले प्रविधि भित्र्याइएको भारीले बताए ।

निश्चित ठाउँमा प्लास्टिक, फाइवर वा तापक्रम नियन्त्रण गर्न सक्ने वस्तुले चारैतिर ढाकेर प्लाष्टिक घरभित्र तरकारी खेती गर्दा बढी उत्पादन गर्न सकिन्छ । प्लाष्टिक घर राख्ने ठाउँमा माटो र मलको मिश्रण गरिन्छ । प्लाष्टिक घरतर्फ किसानलाई आकर्षित गर्न योजना बनाइने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।