समाचार

दीपकराज जोशीलाई महाअभियोग लगाएर नपछुताउनुस्ः नेपाली कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाएर गम्भीर गल्ती नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपालाई चेतावनी दिएको छ । आईतबार राष्ट्रियसभा बैठकमा बिशेष समय लिएर बोल्दैँ काँग्रेस सांसदले महाअभियोग सामान्य अवस्थामा प्रयोग गर्ने अस्त्र नभएको बताएको हो ।

सांसद राधेश्याम अधिकारीले न्यायपालिका कमजोर बनाउने खेलमा सत्तापक्ष लागेको गम्भीर आरोप समेत लगाएका छन् । प्रतिनिधीसभा बैठकसकिएपछि खाली कागजमा हस्ताक्षर संकलन गरेको कुरा मिडियामा आएको बताउदैँ नेकपाको यस्तो कार्यलाई सांसद अधिकारीले न्यायापालिका र न्यायाधीशको अधिकार कुण्ठित गर्नुको संज्ञा दिएका छन् ।

संविधानको मूल्यमान्यतालाई नजरअन्दाज गरी सत्तापक्षले अगाडी बढे यसले न्यायालयको आस्थामा आँच आउने उनको भनाई छ । अदालतलाई अदालत नभई पार्टीको शाखा कार्यालय बनाउन खोजे कांग्रेस प्रतिवादमा उत्रिने उनले बताए ।

तत्कालिन समयमा कांग्रेसले शुशिला कार्कीमाथि दर्ता गरेको महाअभियोग गलत भएको स्मरण गर्दै अधिवक्ता समेत रहेका सांसद अधिकारीले वस्तुगत आधारविना नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महाअभियोग लगाउन खोज्नु नै गलत भएको अधिकारीको टिप्पणी छ ।