गण्डकी प्रदेश

जीप दुर्घटनामा एकको मृत्यु

कावासोती । नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् ।

शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नं को बलेरो जीप आफैँ अनियन्त्रित भई पल्टिदा बलेरो चालक नवलपरासी बौदीकाली–४ घर हुप्सेकोटका ३५ वर्षीय कृष्ण सुनारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका सुनारीको उपचारका क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो । दुर्घटनामा सहचालक मेखबहादुर मर्साी घाइते भएका छन् । घाइते मेखबहादुरको भरतपुरमा उपचार भइरहेको छ । बलेरोमा यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय ननवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

विद्युत् सर्ट हुँदा आगलागी

नवलपरासीको कावासोती नगरपालिका–८ मा आज बिहान ३ बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । कावासोती–८ निवासी पूर्णचन्द्र लम्सालको टिनले छाएको घरमा आगलागी भएको हो ।

आगलागीबाट अन्नपात, लत्ताकपडा र नगद गरी रु ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो दमकल, प्रहरी र स्थानीयको प्रयासमा २ घण्टामा नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।