स्वास्थ्य

अस्पताल भवन उद्घाटन

चौतारा । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले जिल्लास्थित जनस्वास्थय कार्यालय आवश्यक हुँदाहुँदै पनि खारेज भएकाले साविकको अवस्थामा राख्न पहल गर्ने बताए ।
राज्यमन्त्री डा यादवले शनिबार सिन्धुपाल्चोकको चौतारा अस्पताल हाताभित्र अमेरिकी मेडिकल फाउण्डेशनको रु ८५ लाख लगानीमा निर्मित दुई प्रि. फ्याव भवन उद्घाटनका अवसरमा उक्त कुरा बताए।

सो अवसरमा राज्यमन्त्री डा. यादवले देशका सबै नगरपालिका र गाउँपालिकाका वडामा स्वास्थ्यचौकी स्थापना गर्ने मन्त्रालयको लक्ष्य रहेको उल्लेख गर्दै दुई हजार ३०० वडामा अझै स्वास्थ्यचौकी नभएकाले यस वर्ष एक हजार २०० वडामा निर्माण गर्ने लक्ष्य रहेको बताए
औषधि अभाव हुन नदिन आवश्यक बजेट सबै नगरपालिका र गाउँपालिकामा निकासा पठाइसकेको उल्लेख गर्दै आवश्यक कर्मचारीको व्यवस्था गर्न मन्त्रालय लागिपरेको उनले स्पस्ट पारे ।

जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको सभापतित्वमा भएको सो कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक डा मोहम्मद दाउदले आधारभूत स्वास्थ्य पाउने जनताको अधिकार भएको चर्चा गरे । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि सो अस्पताल जस्ताको टहरा र टेण्टबाट सञ्चालन हुँदै आएको थियो ।