स्वास्थ्य

हचुवाकै भरमा रगत परीक्षण

ललितपुर । डेढवर्ष पहिले सवारी चालक अनुमतिपत्र लिएका सोनपाका संयोग मगरलाई अहिलेसम्म आफ्नो रगत समूह कुन हो भन्ने पनि थाहा छैन ।

सवारी चालक अनुमतिपत्र बनाउनका लागि उनले हतारमा यातायात व्यवस्था कार्यालय परिसरमै भेटिएका एकजना स्वास्थ्यकर्मीबाट आफ्नो रगत समूह ‘बि पोजिटिभ’ भएको कागज बनाए । त्यतिबेला उनलाई चालक अनुमतिपत्रमा रक्त समूह किन राखिएको र त्यो गलत हुँदा के असरपर्छ भन्ने थाहा थिएन ।

चालक अनुमतिपत्रका लागि कागजात बुझाउँदा उनले ती स्वास्थ्यकर्मीले बनाएको कागज नै पेश गरे । त्यही आधारमा चालक अनुमतिपत्रमा ‘बि पोजिटिभ’ लेखियो । उनले भने, “पहिले हतारमा उसै बनाएँ, अहिले आफ्नो वास्तविक रगत समूह फरक हो कि भन्ने चिन्ता छ ।”

मगरको रगतको समूहका बारेमा न उनी ढुक्क छन्, न त उनलाई अनुमतिपत्र दिने यातायात व्यवस्था कार्यालय नै । यातायात व्यवस्था ऐनले सवारी चालक अनुमतिपत्र दिँदा चालकलाई विभिन्न किसिमका स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था छ । त्योमध्ये रगतको समूह जाँच पनि महत्वपूर्ण हो । तर कार्यालयले भने हचुवाका भरमा यात्रुलाई सवारी चालक अनुमतिपत्र दिने गरेको छ ।

यात्रुले पनि हतारले रक्त समूह परीक्षण नगरी उसै फारम भर्ने गरेका हुन । यातायात व्यवस्था कार्यालयको भीडमा स्वास्थ्यकर्मी हुँ भन्दै रगतको समूह परीक्षण नै नगरी प्रमाणित गर्ने धेरै जना भेटिने गरेका छन् ।

तीनले पैसा कमाउनका लागि रगत परीक्षण नै नगरी यात्रुको रक्त समूह छुटाएर सही गरिदिन्छन् । कार्यालयले त्यसैलाई आधार बनाएर चालक अनुमतिपत्रमा रक्त समूह राख्दै आएको छ ।

जावलाखेल बस्दै आउनुभएका शशी खड्का सवारी चालक अनुमतिपत्र लिँदा रगत मात्रै नभएर अरु कुनै पनि खालको स्वास्थ्यपरीक्षण नहुने गरेको बताउँछन् । कार्यालयमा सधैंँ भीडभाड हुने हुँदा स्वास्थ्य परीक्षणका नाममा स्वास्थ्कर्मीले एक दुई अक्षर देख्ने वा नदेख्ने हेरेर नै स्वास्थ्य जाँच सकाउने गरेका छन् ।

उनले भने, “कार्यलयमा धेरै भीड पन्छाउन हतार होला तर हाम्रो त जीवनसँग जोडिएको हुन्छ, ।” स्वास्थ्य जाँचमा कार्यालय संवेदनशील हुनुपर्ने उनले बताए ।

हतारमा स्वास्थ्य जाँच गराउँदा विभिन्न किसिमका समस्या आइरहेका छन् । समय समयमा अस्पतालमा चालक अनुमतिपत्रमा भएको रगतको समूहलाई सही मान्दा रक्त समूह फरक भएको घटनासमेत पाइएको छ । चालक अनुमतिपत्रमा रक्त समूह उल्लेख गर्नुको कारण कुनै दुर्घटना भइहाल्दा रक्त जाँच नगरी चालक अनुमतिपत्रका आधारमा रगत सङ्कलन गर्नु हो । खड्काले भने, “अहिले चालक अनुमतिपत्रलाई विश्वास गर्न मिल्ने अवस्था छैन ।” अनुमतिपत्रमा भएको रक्त समूह विश्वासिलो नभएपछि त्यसमा उल्लेख गर्नुको अर्थ नभएको उनले बताए ।

यातायात व्यवस्था विभाग अन्तर्गतका बागमति अञ्चल कार्यालयको चालक अनुमतिपत्र शाखामा कार्यरत सूचना अधिकारी भक्त विष्टले स्वास्थ्य जाँच गर्न ठेक्कामा दिइने बताए । जुन स्वास्थ्यकर्मीले जिम्मेवारी लिएको हुन्छ, गल्ती भएमा उसैले जिम्मेवारी लिनुपर्ने धारणा उनको छ । सूचना अधिकारी विष्टले भने, “ऐनले कार्यालयलाई भन्दा पनि गल्ती भएमा उसैले सजाय भोग्नुपर्ने व्यवस्था गरेको छ ।” चिकित्सकले राम्रो ग¥यो वा गरेन भन्ने शंका गर्न नसकिने उनले बताए।

यातायात व्यवस्था कार्यलयमा पहिले धेरे खालका बिचौलिया हुने गरेका थिए । पछिल्ला समय नियन्त्रण नै नभए पनि कम हुँदै गएको कार्यालयले जनाएको छ । सेवा प्रवाहमा सहजता ल्याउनका लागि कार्यालयले टोकन प्रणाली लागू गरिएको छ । यसले कम समयमा सहज रुपमा काम हुन थालेको बताइएको छ ।