समाचार

कफी संस्कृतिमा नयाँ आयाम, कफीमा यार्सागुम्बा

काठमाडौँ । बझाङका २५ वर्षीय सत्य थापा र काठमाडौँका २७ वर्षीय विशाल चौलागाईंलाई युवा अवस्थामा नै केही फरक पेशा, व्यवसाय गर्ने हुटुहटी जागी रहन्थ्यो । आ–आफ्नै पेशामा रहेका उनीहरुको मनमा एक दिन नयाँ कल्पना फु¥यो, यार्सागुम्बासहितको कफीको व्यवयास गर्ने ।

के युवा, के वृद्ध, सबैमाझ लोकप्रिय बन्दै गएको ‘कफी संस्कृति’ लाई नयाँ आयाम प्रदान गर्न उनीहरु कफीको साथमा यार्सागुम्बा ‘सर्भ’ गर्ने निष्कर्षमा पुगे र खुल्यो ‘यार्सा–जाभा क्याफे प्रालि’ । उनीहरुको क्याफेको नामबाटै प्रष्ट थाहा हुने भइहाल्यो, कफीमा यार्साको स्वाद ।

व्यवसाय त गर्ने, तर कहाँ कसरी शुरु गर्ने, यार्सागुम्बा र कफीको व्यवस्थापन कसरी गर्ने ? थापा र चौलागाईंले जुक्ति निकाले । थापाले यार्सागुम्बा र चौलागाईंले उपयुक्त स्थान खोज्ने निर्णय गरे । थापा–चौलागाईंको सामूहिक प्रयत्नबाट यार्सागुम्बा र कफी तथा स्थान सहजै व्यवस्थापन भयो । उनीहरुले तत्कालका लागि बझाङबाट यार्सागुम्बा ल्याउने र काठमाडौँ मलमा राख्ने तयारी गरे । अब बाँकी रह्यो कफी उपलब्ध गराउने कार्य । दुवै जना विश्वमै उत्कृष्ट कफीको मान्यता पाएको नेपाली कफी खोजीमा लागे । उनीहरुले ठमेलबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण हुँदै आएको नेपाली कफी खरीद गर्ने निर्णय गरे ।

विश्वमा यार्सा मिश्रित मदिरा पाइए पनि ‘यार्सागुम्बा विथ कफी’ पहिलो भएको उनीहरुको दाबी छ । आफूहरुले व्यवसाय शुरु गरेपछि विश्वकै ‘कफी कल्चर र ट्रेन्ड’ मा फड्को मारेको उनीहरुको जिकिर छ । विश्वका थोरै मात्र देशमा यार्सागुम्बा पाइन्छ । नेपाल अग्रस्थानमा आउँछ । त्यस्तै विश्व बजारमा नेपालको प्राङ्गारीक कफीको माग उच्च छ ।

“हाम्रै देशमा यार्सागुम्बा र विश्वस्तरको कफी पाइन्छ भने ‘यार्सागुम्बा विथ कफी’ व्यवसाय किन शुरु नगर्ने भन्ने सोचका कारण व्यवसाय थालेका हौँ”– सञ्चालक थापाले भने । जनआन्दोलन र संविधान जारी हुँदाका विभिन्न आरोह र अवरोहका साक्षी थापा र चौलागाईंले संविधान जारी भएको दिन पारेर आफ्नो व्यवसाय शुरु गरे । देशले फड्को मारेको महाउत्सवका दिन अर्थात् असोज ३ गते ती दुवै जनाले नेपालबाट विश्वलाई ‘कफी कल्चर’मा फड्को मारेको नयाँ सन्देश दिए । चौलागाईं भन्छन्, “हामी यही सन्देश दिन चाहन्थौँ ।”

थापा र चौलागाईं कफी प्रविधि र स्वादमा नयाँपन दिन लागि परेका छन् । यार्सा जाभा क्याफेमार्फत कफीसँगै यार्सागुम्बाको स्वाद लिन सकिन्छ । प्रविधिको उच्चतम् प्रयोग गरेको क्याफेले ‘कफी प्रिन्टिङ मेसिन’मार्फत हामीले खाने कफीमा हाम्रै तस्बिर राखेर प्रदान गरिन्छ । उनीहरुले उक्त मेसिन सिङ्गापुरबाट ल्याएका हुन् ।

व्यवसाय सञ्चालन गरेकै दिनदेखि उनीहरुलाई अन्य व्यवसायिक साझेदारी गर्ने प्रस्ताव आउन थालेको छ । सञ्चालक थापाले भने, “धनगढीमा हाम्रो ‘आउटलेट’ खोल्नका लागि प्रस्ताव आएको छ ।” उनीहरुले स्थानीय बजार र अन्तर्राष्ट्रियस्तरमा समेत आउटलेट खोल्ने बारेमा सोच बनाइसकेका छन् । कलङ्की, पोखरा, धनगढीमा आउटलेट खोल्ने उनीहरको तयारी छ ।

‘यार्सागुम्बा’ भन्ने बित्तिकै नाक खुम्च्याउने र यसको प्रयोगको गलत अर्थ लगाउनेलाई व्यवसायमार्फत नयाँ सोच पस्कने उनीहरुको तर्क छ । आममानिसमा अझै पनि यार्सागुम्बाको प्रयोग यौन क्षमता बढाउने ‘शक्तिबद्र्धक खुराक’ मात्र हो भन्ने बुझाइ छ । उक्त बुझाइलाई चिर्नुपर्ने चुनौतीका बाबजुद उनीहरु व्यवसाय प्रवद्र्धनमा लागेका हुन् ।

उसो भए किन नखाने त ?

सञ्चालक चौलागाईं भन्छन्, “यार्सागुम्बा मानिसको शरीरमा शक्ति प्रदान गर्ने सत्य हो, यसले हाम्रो शरीरमा ताकत पनि दिन्छ र शरीरलाई ‘रिफ्रेस’ बनाउँछ । त्यस्तै यसबाट हाम्रो शरीरलाई चाहिने विभिन्न पोषणसमेत प्राप्त हुन्छ । यसलाई जनमानसमा बुझाउनु हाम्रो मुख्य चुनौती हो ।”

यार्सा–जाभाले प्रदान गर्ने एक कप कफीमा ३ ग्राम यार्सा र ७ ग्राम कफी मिश्रण गरिने उनीहरु बताउँछन् । यार्सा मिश्रित एक कप कफीे रु ५०० सम्ममा बिक्री भइरहेको छ । एउटा यार्साबाट कम्तीमा तीन कप कफी बनाउने गरिएको छ । त्यसो त यार्सा–जाभाको ‘यार्सागुम्बा विथ कफी’लाई अमेरिकाको कृषि विभागस्थित खाद्य सुरक्षा परीक्षण संस्थाले प्रमाणित गरिदिएको छ । क्याफेमा करीब रु ६० लाखको लगानी भइसकेको छ । ‘यार्सा विथ कफी’ को ट्रेडमार्क लिनका लागि थापा र चौलागाईंले प्रक्रियासमेत अघि बढाइसकेका छन् ।