कृषि

चियाखेतीतर्फ किसानको आकर्षण

बागलुङ । जिल्लामा पहिलोपटक चियाखेती शुरु गरिएको छ । जिल्लाका किसानले बाँझो जग्गामा चियाखेती शुरु गरेका हुन् ।

कृषि विज्ञहरुले जिल्लाको एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइसम्ममा चियाखेती गर्न सकिने बताएपछि किसान सामूहिकरुपमा चियाखेतीतर्फ अग्रसर भएका हुन् । आफ्नै ठाउँमा चियाखेती गर्न थालेको बागलुङ नगरपालिका–८ का खिमबहादुर खड्काले भने । उनले तीन हजार चियाका बिरुवा लगाउनुभएको छ ।

चियाखेती विस्तारका लागि बागलुङ नगरपालिकाले अध्ययन, अनुसन्धान गर्नुका साथै अनुदान उपलब्ध गराउन थालेपछि किसान सामू्हिक चियाखेतीतर्फ आकर्षित भएका हुन् । “चिया प्रशोधन उद्योग स्थापना गर्ने तथा निकासी गर्ने योजना बनाएका छौँ,” नगरपालिकाका आर्थिक विकास समिति संयोजक जीवन आचार्यले भने। नगरपालिकाले कृषि विज्ञसहितको टोली बनाएर वडा नं ८ को सिगाना, ९ को तित्याङ तथा वडा नं १० को भकुण्डेमा चियाखेतीको सम्भाव्यताबारे अध्ययन गरेको थियो । अध्ययन टोलीले चिया उत्पादन गर्न सकिने निष्कर्ष निकालेपछि सोहीअनुसार योजना बनाएर चियाखेती थालेको आचार्यले बताए ।

सिगानाको तल्लो भेगमा सुन्तलाखेती र माथिल्लो भेगमा चियाखेती गर्ने वडाको योजना रहेको वडा नं ८ का वडाध्यक्ष राजन जिसीले बताए । तल्लो भेगमा १० हजार सुन्तलाका बिरुवा तथा माथिल्लो भेगमा नौ हजार ५०० चियाका बिरुवा रोपिएको छ । चियाखेती विस्तार गर्न नगरपालिकाले शत प्रतिशत ढुवानी तथा बिरुवामा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ । नगरपालिकाका प्रमुख जनकराज पौडेल हरेक वडाका किसानलाई कृषि क्षेत्रमा अत्मनिर्भर बनाउन योजना बनाएको बताउँछन् ।