राजनीति

लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ: वरिष्ठ नेता पौडेल

लिस्बन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताए ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने विचार व्यक्त गरे ।

“मुलुकको परिवर्तन र जनताको न्यायका लागि पञ्चायतकालमा म १४ वर्ष जेल बसेँ, धेरै राजनीतिक सङ्घर्ष गरेँ, नेता पौडेलले भने”, “राजनीतिक सङ्घर्ष सत्ता प्राप्तिका लागि नभएर नेपाली जनताको न्याय, देशको उन्नति र समृद्धिका लागि हो ।”

मुलुकको परिवर्तनमा बिपीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै नेता पौडेलले निमुखालाई न्याय र विपन्नलाई आय नै बिपीको असली समाजवाद भएको विचार व्यक्त गरे। देशमा संविधान र सङ्घीयता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै नेता पौडेलले एकल जातीय आधारमा सङ्घीय राज्य बन्न नसक्ने धारणा राखे।

चुनावमा पार्टीले भोग्नुपरेको पराजयको समीक्षा हुनुपर्ने धारणा राख्दै उनले चुनावमा काङ्ग्रेसले हारे पनि सिद्धान्तको विजय भएको बताए । उनले पार्टी नेतृत्वबाट भएका त्रुटि सुधार गरेर पार्टीभित्र देखिएका गुटउपगुट, विकृति र विसङ्गतिको अन्त्य गरी पार्टीलाई सुधार गर्नुपर्ने खाँचो औल्याए।

एक पटकको नेपाली सधैँको नेपाली भएको भन्दै नेता पौडेलले नेपालमा लगानीको अवसर र वातावरण बनेकाले विदेशमा सिकेको ज्ञान, सीप, कला र पूँजी लिएर स्वदेश फर्कन प्रवासी नेपालीलाई आग्रहसमेत गरे ।