समाचार

विकास समितिको सभापतिमा खड्का

काठमाडौँ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध निर्वाचित भएकी छिन् । समितिको आजको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो ।

खड्काको उम्मेदवारीमा सांसद गणेशकुमार पहाडी प्रस्तावक र समर्थकमा इन्दुकुमारी शर्मा रहेकी थिइन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासहित समितिका सदस्यहरुले सरकार र समाजलाई स्पष्ट मार्गनिर्देश गर्ने समितिको सभापतिमा चयन भएकामा श्रीमती खड्कालाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको लागि कामना गरे ।

त्यसैबीच राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सांसद कृष्णगोपाल श्रेष्ठ प्रस्तावक र रेखा शर्मा समर्थक रहेको श्रेष्ठलाई निर्वाचित गरियोस् भन्ने सूचनालाई बैठकले सर्वसम्मतरुपमा अनुमोदन गरेको थियो । सभापतिमा श्रेष्ठ निर्विरोध भएपछि समितिका सदस्यहरुले उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे।