गण्डकी प्रदेश

समाजसेवी गुरुङको धानखेत विद्यालयलाई

पर्वत । पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीस्थित मणिगाउँका ९१ वर्षीय समाजसेवी शेरबहादुर गुरुङले आफ्नो ९१औँ जन्मदिनको अवसर पारेर दुई सामुदायिक विद्यालयलाई जग्गा प्रदान गरेका छन् । स्थानीय मदनआश्रित माध्यमिक विद्यालयलाई १५ रोपनी र फलामखानी आधारभूत विद्यालयलाई १० रोपनी गरी २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराए।

तत्कालीन राजसभा स्थायी समितिका पूर्व सदस्यसमेत रहनुभएका गुरुङले दुई विद्यालयलाई भौतिक पूर्वाधारले सम्पन्न गराउन र बाँकी जमीनमा आयआर्जनका कार्यक्रम गरेर शैक्षिक सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले जग्गा सहयोग गरेको बताए । उनले लामो समय आफू गाउँमै बसेर समाजसेवामा लागेको र आफ्नै पहलमा स्थापना भएका विद्यालयलाई व्यक्तिगत जग्गा हस्तान्तरण गरेको बताए ।
उक्त जग्गाको लालपुर्जा गुरुङले गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेललाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा जग्गादाता गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै दिर्घायुको कामना समेत गरिएको थियो । गुरुङ दम्पतिका चार छोरा छन् । उनीहरू कोही वैदेशिक रोजगार त कोही बुटबलमा व्यवसायमा संलग्न रहेका छन् । गुरुङ केही समय गाउँमा त केही समय बुटबलमा बस्दै आएका छन् ।

गुरुङले प्रदान गरेको जग्गाको मूल्य रु २५ लाख बराबरको छ । आफ्नो धानखेत, कोदोबारी र खरबारी जस्ता गाउँका महत्वपूर्ण जग्गा प्रदान गरेको मदनआश्रित माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर क्षेत्रीले जानकारी दिए । उनका केही जग्गामा विद्यालयका लागि भौतिक पूर्वाधार बनाउने र बाँकी जग्गा भाडामा दिएर विद्यालयको लागि आयआर्जन गरिने बताए । अहिले कक्षा १० सम्म सञ्चालन हुँदै आएको उक्त विद्यालयमा कक्षा ११ र १२ पनि सञ्चालन गर्ने योजना रहेको छ । कक्षा १२ सम्म सञ्चालन भएपछि उक्त वडाका विद्यार्थी अध्ययन गर्नका लागि छिमेकी वडा नं ५ को लुङ्खुदेउराली जानुपर्ने बाध्यता हट्ने छ ।

जन्मदिनकै अवसरमा अर्जुनचौपारी गाउँपालिका वडा नं ५ आरुचौर स्याङजामा रहेको सर्वोदय माविमा रु ५३ हजारबराबरको कोष खडा गरे । हरेक वर्ष साहित्यसम्बन्धी प्रतियोगिता गर्ने र उत्कृष्ट हुनेलाई सोही अक्षयकोषको रकमबाट पुरस्कार वितरण गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरे ।