सूचना प्रविधि

सामुदायिक विद्यालयलाई कम्प्युटर

हुम्ला । हुम्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खार्पुनाथ गाउँपालिकाका दुई माध्यमिक विद्यालयलाई गुडनेवर्स इन्टरनेशनल र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले कम्प्युटर वितरण गरेको छ । गुडनेभर्स इन्टरनेशनलको आर्थिक सहयोग र किर्डाक नेपाल हुम्लाद्वारा सञ्चालित शिक्षा कायक्रमअन्तर्गत गाउँपालिकाको सीता मावि, छिप्रा र मालिका मावि, लालीलाई कम्प्युटर वितरण गरिएको गुडनेभर्स इन्टरनेशनल हुम्लाका संयोजक मनकुमार राईले बताए ।

विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ र नयाँ टेक्नोलोजीतर्फ केन्द्रित गर्ने उद्देश्यले कम्प्युटर वितरण काय शुरु भएको हो । जिल्ला शिक्षा समन्वय एकाई प्रमुख वर्ष फडेराले सम्बन्धित विद्यालयका प्रधानअध्यापकलाई कम्प्युटर वितरण गरे । मालिका माविलाई १० थान कम्प्युटर एक थान प्रोजेक्टर र सीता माविलाई आठ थान र एक प्रोजेक्टर वितरण भएको थियो ।

दुई विद्यालयमा गरी रु १० लाख २३ हजार २९२ बराबरको कम्प्युटर सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लाको मध्यक्षेत्रमा पर्ने सर्केगाड गाउँपालिकामा रहेको हिमज्योति माध्यमिक विद्यालयमा वितरण गरेको कम्प्युटर अहिलेसम्म सञ्चालनमा आउन नसकेकामा भने समन्वय प्रमुख फडेराले त्यस्ता कमजोरी सुधार्न निर्देशन दिए । विद्यालयलाई प्रविधिमैत्री बनाउन सो कम्प्युटर सहयोगी हुने छिप्रा माविका प्रधानध्यापक जुनअराज हमालले बताए ।