खेलकुद

फुटबल एकेडेमी बनाइने

कास्की । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यहाँ प्रदेशस्तरीय फुटबल एकेडेमी निर्माणमा चासो दिएको छ । उक्त कार्यका लागि युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मासहित एन्फा पदाधिकारीको टोलीले पोखरा महानगरपालिका–१५ को तल्लो भाग र माछापुच्छे गाउँपालिकाको वडा नं ६ भेडाबारीस्थित सरकारी जग्गा बिहीबार निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले सडक पूर्वाधारको पहुँच र माछापुच्छे तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भेडाबारीमा एकेडेमी बन्ने सम्भावना देखिएको बताए ।

लगभग रु १० करोडको लागतमा निर्माण हुने एकेडेमीमा १४, १६ र १८ गरी तीन उमेर समूहका ९० किशोरका लागि खाने, बस्ने, कार्यालय भवन र अभ्यास मैदान निर्माण गर्ने तयारी भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।

निरीक्षण गर्दा दुवै जग्गा उपयुक्त देखिएको बताउँदै उनले भेडाबारीमै बनाउन सकिने भए पनि त्यसको अन्तिम निर्णय प्राविधिक समितिको प्रतिवेदनपछि मात्र गरिने उल्लेख गरे ।

करीब पाँचसय रोपनी जग्गा गाउँपालिकाले नापजाँच गरेर पठाएपछि एन्फाले प्राविधिक टोली अध्ययनका लागि लागि पठाउने र त्यसको प्रतिवेदनका आधारमा निर्णय लिइने अध्यक्ष शेर्पाले भनाइ थियो ।

तल्लो तहबाटै फुटबलको विकास गर्ने उद्देश्यले एन्फाले सातै प्रदेशमा एकेडेमी निर्माण गरेर फुटबल खेलको विकास गर्ने लक्ष लिएको जानकारी दिँदै उनले आगामी वर्षबाट गण्डकी प्रदेश र प्रदेश नं ५ मा एकेडेमी निर्माणको काम शुरु हुने जानकारी दिए । पोखराबाट १७ किमीको दूरीस्थित भेडाबारीमा एकेडेमी बनाउन अन्यत्रभन्दा उपयुक्त भएकाले सोही स्थानलाई छनोट गरिनुपर्ने स्थानीयवासीको माग छ ।

माछापुच्छे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जग्गा नापजाँचको काम भइरहेको र असोज दोस्रो हप्ताभित्रमा जग्गाको यकिन विवरणसहित एकेडेमी निर्माणका लागि एन्फालाई पत्राचार गरिने जानकारी दिए। “भेडाबारीे एकेडेमीका लागि उपयुक्त छ, पूर्वाधार निर्माण गर्न पनि सहज छ भन्ने हाम्रो ठम्याइ हो”, उनले भने ।