बाग्मती

शिक्षकलाई कामको आधारमा पुरस्कृत र दण्डित गर्ने

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले शिक्षकलाई कामको आधारमा पुरस्कृत र दण्डित गर्ने भएको छ । गाउँपालिका अध्यक्ष टासी लामाले थाङपालधापमा आयोजित पञ्चवर्षीय शैक्षिक कार्ययोजना प्रस्तुत कार्यक्रममा शिक्षण पेशामा इमान्दार नहुने शिक्षकलाई कारबाही गरिने र शिक्षकहरुका बीचको विभेद अन्त्य गर्दै सबैलाई समान व्यवहार गरिने जानकारी दिए ।

सरकारले स्थायी शिक्षकलाई मात्र पोशाक सुबिधा दिँदा अस्थायी, करार र ज्यालादारीका शिक्षकमा हीनतावोध भएको र यसबाट विद्यार्थीको सिकाइ उपलब्धिमा प्रत्यक्ष असर परेकाले सबैलाई समान व्यवहार गरिनेमा उनले जोड दिए । गाउँपालिकालाई कृषि र पर्यटनको गन्तव्य बनाइने लक्ष लिइएकाले सबै विद्यालयमा पर्यटन र कृषि शिक्षालाई अनिवार्य लागू गराउन पनि उनले सुझाव दिए । कमिटेड नेपाल काठमाडौँको सहकार्यमा विभिन्न वडाका शिक्षा समितिसँग छलफल गरी उक्त कार्ययोजनालाई हिजो प्रस्तुत गरिएको थियो ।