राजनीति

सरकारसंग जनताको बिरुद्धमा ल्याएको कानून परिमार्जन गर्नुको बिकल्प छैन: नेता ठाकुर

पर्सा । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा अवश्यक छलफल र राजनीतिक दलसँग परामर्श नै नगरी सरकारले कानून ल्याएका कारण मुलुकभरी विरोध देखापरेको बताएका छन्।

राजपा पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्बाट निर्माण भएका कानूनलाई छलफल नै नगरेका कारण डाक्टर, पत्रकार, चालकलगायत पेशाकर्मी आन्दोलनमा उत्रिएको बताए ।

संयोजक ठाकुरले कानूनमा त्रुटी भएको सरकारसमेत स्वीकार गरिसकेकाले यसलाई सच्याउनुको विकल्प नभएको बताउँदै अब भन्ने कानूनको विषयमा व्यापक छलफल गरी निर्माण गर्न सरकारलाई सुझाव दिए ।

राजपासँग सरकारले गरेको सहमति कार्यान्वयन नगरेका कारण मुलुकमा फेरि आन्दोलनको वातावरण बन्दै गएको उल्लेख गर्दै उनले संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन नगरेसम्म अधिकारका लागि संघर्ष भइरहने विचार व्यक्त गरे ।

संयोजक ठाकुरले राजपासँग भएका सम्झौतालाई कार्यान्यन गर्न सरकारलाई आग्रह पनि गरे ।

राजपाका केन्द्रीय सदस्य एवं प्रदेश नं २ का प्रदेश सदस्य रमेशप्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संयोजक ठाकुरले आगामी वैशाख ७, ८ र ९ गते राजपाको केन्द्रीय महाधिवेशन गर्ने जानकारी दिए ।

महाधिवेशनलाई समयमा पूरा गर्न गाउँदेखि प्रदेश अधिवेशनलाई तोकिएको समयभित्र सम्पन्न गर्न पार्टीका सबै तह र ओहदाका पदाधिकारीलाई उनले निर्देशन पनि दिए ।

नेता ठाकुरले आफ्नो आशय सरकारले सबै पक्षसंग छलफल गरेर कानून परिमार्जन गर्नुको बिकल्प नरहेको बताए ।