बाग्मती

घरटहरा नहटाउँदा काम अवरुद्ध

ललितपुर । नेपालको पहिलो १० लेन सडकका रुपमा रहेको निर्माणधिन कोटेश्वर–कलङ्की सडक छेउमा रहेका घरटहरा नहटाउँदा निर्माण कार्य अवरुद्ध भएको छ । सहायक सडकमा छिर्ने बाटोका रुपमा रहेको सेवा मार्गमा रहेका घरटहराले काममा बाधा पु¥याएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

सातदोबाटो, थसिखेल, ग्वार्खो, बालकुमारी लगायतका स्थानमा सडक छेउमा धेरै अस्थायी घरटहरा रहेको योजनामा कार्यरत इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । अस्थायीरुपमा काठका गोदाम, कवाडी लगायतका पसल यस स्थानमा रहेका छन् । वडा कार्यालय र नगर विकाय कार्यालयले ३१ मिटर मापदण्डका आधारमा चिह्न लगाउँदा यी संरचना भत्काउन भनेको थियो । तीन वर्ष नाघ्दासमेत उनीहरुले टहरा भत्काएका छैनन् । उनले भने, “संरचना हटाएर सडक खाली गर्न पटकपटक सार्वजनिक सूचनासमेत जारी भएको छ ।”

चक्रपथ रहेको ३१ मिटरभित्रै घरटहरा छन् । योजनाले पटकपटक ताकेता गर्दा पनि घरटहरा प्रयोग गर्दै आएकाले भत्काउन अटेर गर्दै आएका छन् । उनले भने, “घरटहराले गर्दा काममा बाधा पुगेको सरोकारावाला निकायलाई समेत हामीले जानकारी गराइरहेका छौँ ।”

सडक निर्माणका क्रममा विभिन्न अवरोध सामना गर्न परिरहेको इञ्जिनियर शर्मा अर्यालले बताए । सडकमा रहेका विद्युत् र टेलिफोनको पोल सार्ने, खानेपानी र ढलको पाइप सार्ने काममा सम्बन्धित कार्यालयले ढिलाइ गर्दै आएका छन् । सम्बन्धित कार्यालयले पाइप वा पोल सार्नका लागि बजेटको अभाव देखाउने गरेका छन् । उनले भने, “हामीले यहाँबाट नै बजेट दिँदासमेत समयमा काम हुँदैन ।”

काम गर्ने जिम्मेवारी पाएको कम्पनी आफैँले ती स्थान खाली गर्नुपर्ने नियम छ । सडक निर्माणका क्रममा साइड खाली गर्न नै समय लागेको उनले बताए । उनले भने, “त्यसले पनि काममा ढिलाइ भएको छ ।” चिनियाँ कम्पनीले समयमै काम सक्न लागिपरेको उनले बताए ।

चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन कोटेश्वरदेखि कलङ्कीसम्मको सडक १० दशमलव ४ किलोमिटर लम्बाइ रहेको छ । सडक निर्माणको जिम्मेवारी सङ्घाई निर्माण समूहले लिएको छ । मुख्य चार लेन र सहायक चार लेन गरेर आठ लेन चिनियाँ कम्पनीले गर्ने सम्झौता भएको थियो । दुवैतिर छ मिटर चौडा सेवा मार्ग निर्माणको जिम्मेवारी सरकारको हो ।

मुख्य र सहायक मार्गका काम झण्डै अन्तिम चरणमा पुग्दा सेवा मार्गको काम अझै धेरै बाँकी नै छ । कोटेश्वबाट झण्डै बालकुमारीसम्म चक्रपथभित्र र बाहिर पर्ने दुवै सेवा मार्ग कालोपत्र सकिएको छ । चक्रपथबाहिर ग्वार्खोबाट सातदोबाटो एन्फासम्म चक्रपथभित्र पर्ने मार्गको कालोपत्र सकिएको छ । उनले भने, “यी टहरा हटाएर सडक खाली हुँदा मात्रै समयमा सबै लेन कालोपत्र हुनेछ ।”

यो सडकमा मुख्य मार्ग, सहायक मार्ग र सेवा मार्ग गरेर तीन खालका सडक छन् । सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई–दुई लेनको सहायक लेन र त्यो बाहिर एकएक लेनको सेवा मार्ग रहेको छ । सवारी सर्भिस ट्र्याकबाट सहायक हुँदै मात्रै मुख्य सडकमा प्रवेश गर्न पाउँछन् । सेवाबाट सहायक र सहायकबाट मुख्य सडकमा छिर्नका लागि निश्चित ठाउँ रहेका छन् ।

पहिले ४० निर्माण सम्पन्न गर्ने गरेर चीनसँग नेपाल सरकारसँग सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीका कारण २०७२ सालमा निर्माणको काम ठप्प भएपछि सरकारले एक वर्ष थप गरेको हो । सडकको जम्मा लागत रु एक अर्ब छ । आगामी डिसेम्बरसम्ममा सडक निर्माण सक्ने सम्झौतामा उल्लेख छ ।

टीकाभैरव–घुसेल सडक कालोपत्र शुरु

गोदावरी नगरपालिका–९ टीकाभैरवदेखि बाग्मती गाउँपालिका–१ घुसेलसम्मको बाटो कालोपत्र हुने भएको छ । गोदावरी नगरपालिका र बाग्मती गाउँपालिकाले संयुक्तरुपमा सडक कालोपत्र गर्न लागेका हुन् ।

यो सडकको लम्बाइ ११ किलोमिटर र चौडाइ छ दशमलब २५ मिटर रहेको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन बताउँछन् । सडकको जम्मा लागत रु २२ करोड ९९ लाख ७३ हजार ३१२ रहेको छ । एक वर्षभित्रमा सडक कालोपत्र सक्ने गरेर ठेक्का दिइएको छ । सडक छेउमा पर्ने घरधनीलाई मर्का नपर्ने गरेर सडक कालोपत्र गर्ने योजना दुवै स्थानीय निकायको छ । उनी भन्छन्, “कुनै व्यक्तिको घरजग्गा परेको छ भने उचित क्षतिपूर्ति दिइनेछ ।”

नगरप्रमुख महर्जनले जनप्रतिनिधिबाट जनताले सबैभन्दा बढी विकास निर्माण चाहेको बताए । उनी भन्छन्, “जनचाहना बुझेर नै सडक निर्माणलाई प्राथमिकता दिएका हौँ ।” नगरपालिका एक्लै र जनप्रतिनिधिले मात्रै नभएर स्थानीयवासी सबै मिलेर लाग्नुपर्ने बताउँदै उनले भने, “त्यसैले कतैबाट अवरोध नगरी काम अघि बढाउन सहयोग गर्न खाँचो छ ।” बाटो निर्माण कार्य गुणस्तरीय हुनुपर्नेमा नगरप्रमुख महर्जनले जोड दिए।