पर्यटन/संस्कृति

पर्यटकको रोजाइमा मुसिकोट दरबार

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ स्थित मुसिकोट दरबार पर्यटकको रोजाइमा पर्न थालेको छ । दरबार संरक्षणका लागि पुरातत्व विभागले काम गर्न थालेपछि यहाँ बाह्य तथा आन्तरिक पर्यटक अवलोकनका लागि आउन थालेका छन् ।

दरबार रहेको मुसिकोट डाँडामा यस वर्ष पर्यटन मन्त्रालयअन्तर्गत पुरातत्व विभागको सहयोगमा ७६ मिटर सडक निर्माण गरिएको छ । सडक निर्माण गर्न पहिलो चरणमा पुरातत्व विभागले रु १० लाख अनुदान उपलब्ध गराएको मुसिकोट दरबार संरक्षण समितिका अध्यक्ष लोकेन्द्र मल्लले जानकारी दिए सडक बनेपछि मुसिकोट डाँडा घुम्न आउने पर्यटकलाई सहज भएको छ ।

सशस्त्र द्वन्द्वको समयमा करीब पाँच वर्ष नेपाली सेनाले सो डाँडामा अस्थायी क्याम्प बनाएको थियो । शान्ति प्रक्रियापछि सेनाको क्याम्प यहाँबाट हटाइएको छ । अहिले मुसिकोट दरबारको संरक्षणका लागि स्थानीयवासी र विभिन्न सरोकारवाला एकजुट भएका छन् । गत वर्ष भदौदेखि दरबार संरक्षण समितिले अवलोकनका लागि शुल्क लिन थालेको छ । गत आवमा रु एक लाख २५ हजार आम्दानी भएको समितिले जनाएको छ । सो आम्दानीबाट वृक्षरोपण, गोडमेल, मूर्ति निर्माण तथा मन्दिर व्यवस्थापन गर्न सहयोग पुगेको छ । प्रवेश शुल्क लिन थालेदेखि हालसम्म बाह्य तथा आन्तरिक गरी आठ हजारभन्दा बढीले मुसिकोट डाँडा अवलोकन गरेका छन् ।

दुई हजार ५० वर्गमिटर क्षेत्रफलमा फैलिएको सो डाँडाको चारैतिर तारजाली लगाइएको छ । डाँडाभित्र ऐतिहासिक मठ मन्दिर, त्रिशूल, बालउद्यान, मुसी, बँदेलगुफा, नागको प्रतिमालगायतको अवलोकन गर्न सकिन्छ । डाँडा अवलोकन गर्न दिनहुँ १०० भन्दा बढी पर्यटक आउने गरेका छन् ।