विचित्र संसार

केरा देखाएको आरोपमा युवक गिरफ्तार !

काठमाडौं । हितकारी फल केरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कहिलेकाहीँ यहीँ केराले मानिसलाई वित्यासै पार्दोरहेछ । एकजना युवक आफुसँग रहेको केरा खानुको साटो देखाएको आरोपमा पक्राउ परेका छन् ।

घटना अमेरिकाको हो । पुलिसलाई केरा देखाएको आरोपमा एक युवक पक्राउ परेका हुन् । पुलिसलाई केरा देखाउने युवकमाथि गुन्डागर्दीको अभियोग लगाइएको छ ।

पश्चिमी कोलोराडोस्थित एक सडकमा पुलिसले चेकजाँच गरिरहेको थियो । सोही सडक हुँदै २७ वर्षीय नाथन रल्फ चेनिंग गईरहेका थिए । जब पुलिसले उनलाई चेकजाँचका लागि रोक्यो नाथनले एकाएक गोजीबाट केरा निकालेर पुलिसलाई पेस्तोल तेर्साएझैँ गरी देखाए ।

सुरुमा त साँच्चीकै पेस्तोल पो ताकेको हो की भनेर पुलिस आत्तिए तर जब ती युवकको हातमा रहेको चिज केरा भएको देखे, तब शान्त भए । त्यसपछि पुलिसले तत्कालै ती युवकको हातबाट केरा थुते र नाथनलाई घोक्राउँदै गिरफ्तार गरे ।

पुलिसलाई केरा देखाउने ती युवकले पुलिसलाई दिएको बयानमा आफुले युट्युुबका लागि एउटा फन्नी भिडियो तयार गर्न त्यसो गरेको बताएका छन् । -एजेन्सी