कृषि

हरियो चिया पत्ती उत्पादनमा कमी

पशुपतिनगर, इलाम । पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ ।

केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न ११३ उद्योग सञ्चालनमा छन् । चिया प्रशोधन उद्योगको वार्षिक तयारी चिया उत्पादन क्षमता पाँच करोड २१ लाख किलो रहेको छ । एक सय १३ उद्योगले वार्षिक एक करोड ८९ हजार ५८ हजार किलो हरियो चिया पत्ती उत्पादन गर्दै आएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले बताए ।

चिया कारखानाको उपयोग ३६ दशमलव ४ प्रतिशत मात्र रहेको छ । आव २०७४/७५ मा केन्द्रीय तथ्याङ्क विभागले सङ्कलन गरेको तथ्याङ्कअनुसार पछिल्लो समय उद्योगको संस्था बढ्दै गए पनि चिया खेती विस्तारमा कमी आएको छ । “उद्योग धेरै खुले, हरियो चिया पत्ती तिनै उद्योगमा बाँडिन्छ,” कार्कीले भने । उद्योगको वार्षिक क्षमताभन्दा ६४ दशमलव ४ प्रतिशत कम तयारी चिया उत्पादन हुँदै आएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम बताउँछन् ।

“पछिल्लो समय चिया खेती विस्तारभन्दा उद्योग विस्तारको क्रम बढेको छ,” उनले भने । चौध जिल्लामा विस्तार भएको चिया खेतीमध्ये पहाडी जिल्लामा अर्थोडक्स र तराईमा सिटिसी उत्पादन हुँदै आएको छ । सर्वेक्षणअनुसार नेपालमा २०४० साल अघि २ दशमलव २ प्रतिशत, २०४० सालदेखि २०५० सम्म १४ दशमलव ४, २०५० सालदेखि २०६० सालसम्ममा ५४ दशमलव ६, २०६० सालदेखि २०७० सम्म २७ तथा २०७० सालयता १ दशमलव ९ प्रतिशत मात्रै चिया खेती विस्तार भएको छ ।

पूर्वी इलामका काजीमान कागते २०५० सालपछि हरियो चिया पत्तिको मूल्य उच्च भएपछि खाद्यान्न बाली मासेर पनि चिया खेती गरेको बताउँछन् । विसं २०६५ पछि हरियो पत्तीको मूल्य घट्दै गएपछि चिया खेती विस्तारको क्रम रोकिएको हो । विषादी प्रयोगका कारण नेपाली चिया तेस्रो मुलुक निर्यात गर्ने क्रम घटेको किसान डम्बर कटुवाल बताउँछन् । बैंक र वित्तीय संस्थाले लगानी नगरेका कारण समेत चिया खेती विस्तारमा कमी आएको कटुवालको भनाइ छ । सर्वेक्षणअनुसार चिया खेती गर्न तथा उद्योग सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाबाट पाँच प्रतिशत मात्र ऋण पाएको बताउँछन् ।

कारखानाको क्षमताअनुसार हरियो पत्ती आउन छोडेको इलाम टी प्रोडुसर्स प्रालिका प्रबन्धक ओम काफ्लले बताए। “साना र ठूला कारखाना धेरै खुलेका छन्, हरियो पत्ती सङ्कलनमा कमी आएको छ,” उनले भने । यस्तै दैनिक २० हजार हरियो चिया पत्ति प्रशोधनको क्षमता रहेको इलामका श्रीअन्तुस्थित समाल भ्याली चिया कारखानामा पनि मुस्किलले दैनिक छ हजार किलो मात्रै पत्ती सङ्कलन हुन्छ । नेपालमा एक करोड ६० लाख ३६ हजार सिटिसी, २६ लाख ७० हजार अर्थोडक्स, दुई लाख २० हजार ग्रीन टी तथा ३२ हजार किलो स्पेसियाल चिया उत्पादन हुने गरेको बताइएको छ । प्रशोधन उद्योग सञ्चालकका अनुसार चार किलो हरियो चिया पत्तिबाट एक किलो तयारी चिया बन्छ ।