समाचार

निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे ।

सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको लगानीको सुनिश्चितता गरेर मात्र निर्माण अगाडि बढाउन सरकारसित माग गर्दै हचुवाका आधारमा रुख कटानी गर्नुहुँदैन भने । सांसद राजेन्द्रकुमार केसी र यज्ञराज सुनुवारले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकलाई समान निवृत्तिभरणको व्यवस्थाको पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेश बस्नेतले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याराको पहिचान गरी कारवाहीको दायरामा ल्याउन सरकारले उच्च प्राथमिकता दिएको बताए ।

सांसद डिला सङ्ग्रौलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरे । सांसद नवराज रावतले कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक अलपत्र परेका हुँदा निर्माण सम्पन्न गराउनका लागि थप बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रदीप यादवले संविधान संशोधन गरी सबैको अपनत्व गराउनका लागि ध्यान दिन ढिलाइ गर्न नहुने बताए । सांसद राजेन्द्र लिङ्देनले संविधान संशोधनको बहानामा विखण्डन गर्ने कार्य स्वीकार्य नहुने बताउँदै संविधानलाई सर्वस्वीकार्य बनाउन आग्रह गरे।