सुदूरपश्चिम

बिचल्लीमा परेका पाँच अनाथ एसओएसमा

बाजुरा । बडीमालिका नगरपालिका–५ मनागाउँमा बिचल्लीमा परेका पाँच बालबालिकालाई उच्च शिक्षाका लागि काठमाडौँ लगिएको छ । बुबा रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु र आमाले छोडेर अन्तै गएपछि बिचल्लीमा परेका ती बालबालिकालाई एसोएस बालग्रामले पालनपोषण र उच्च शिक्षासम्मको अध्ययनका लागि बुधबार काठमाडौँ लगेको हो ।

‘पाँच अनाथ बालबालिका अभिभावकबिहीन भई बिचल्लीमा’ भन्ने समाचार राससलगायत अन्य विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि उनीहरुको परिस्थिति अध्ययन गरी काठमाडौँ लगिएको बालग्रामका जिल्ला प्रमुख पदम हमालले बताए ।
बेसाहरा बालबालिकाको गाँसबास र कपासका लागि यसअघि समाजसेवी इशा गुरुङले बेलायतबाट विश्वरभरि सहयोगका लागि अभियान चलाएको थियो भने अर्का सामाजसेवी खुशी राईले नेपालमै उनीहरूकै सहयोगका लागि विभिन्न ठाउँमा पहल गर्दै आएका थिए । यसैगरी पत्रकार महासङ्घका जिल्ला शाखा अध्यक्ष प्रकाश सिंहले आर्थिक सहयोगका लागि विभिन्न ठाउँमा समन्वय गरेर रकम सङ्कलन गरेको थियो ।

तीन वर्षअघि रामबहादुरको क्यान्सरका कारण ४३ वर्षको उमेरमै मृत्यु भएको थियो । श्रीमानकोे मृत्यु भएको १० महिना नपुग्दै श्रीमती बिर्मा अर्कैसँग हिँडेपछि ती बालबालिका बिचल्लीमा परेका थिए । रामबहादुरका पाँच सन्तानमध्ये १३ वर्षीया पार्वती, ११ वर्षीया सोविना, नौ वर्षीया अस्मिता, सात वर्षीय सुवास र ४ वर्षीय रोशन अहिले बालग्राममा छन् ।
पीडित बालबालिकालाई रकम

संविधान दिवस २०७५ को अवसरमा ती पाँच बालबालिकाको पालनपोषणका लागि विभिन्न ठाउँबाट सहयोग स्वरुप सङ्कलन भएको रु पाँच लाख हस्तान्तरण गरिएको छ ।