प्रदेश 2

घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट

लहान । सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा बढी लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक हजार ६९९ लिटर तयारी घरेलु मदिरा तथा एक हजार ७०० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट पारेको हो ।

जिल्लामा शुरु गरिएको घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत भदौ महिनाभरिमा उक्त परिणाममा मदिरा नष्ट पार्नुका साथै मदिरा उत्पादनका लागि प्रयोग गरिएका १३ थान भाँडाकुँडासमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज रिमालले जानकारी दिए ।

यस्तै सिरहा प्रहरीले विगत एक महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट डाइलेक्स डिसी आठ बोतल, नाइट्रोजन ट्याब्लेट १९ चक्की, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट र गाँजा एक चिलिम बरामद भएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए।

माछापालन योजना

माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको सुखीपुर नगरपालिकाले अघि बढाएको छ । नगरक्षेत्रमा रहेका तालतलैया, पोखरी, कुवा संरक्षण निर्माण, पुनःनिर्माण गरी निःशुल्क माछाका भुरा वितरणलगायतका योजना नगरपालिकाले अघि सारेको हो ।

माछा उत्पादनका हिसाबले जिल्लालाई उत्कृष्ट बनाउने लक्ष्यका साथ नगरपालिका अघि बढेको नगरप्रमुख रामऔतार यादवले बताए । माछापालन गर्न चाहेका र गरिरहेका किसानलाई नगरपालिकाका तर्फबाट पोखरी निर्माणदेखि माछाका भुरा निःशुल्क उपलब्ध गराउनुका साथै माछा पालनसम्बन्धी आवश्यक तालीम दिन शुरु गरिएको प्रमुख यादवले बताए ।

यसै योजनाअन्तर्गत माछापालनमा सक्रिय एकसय किसानलाई हालसम्म एक लाखभन्दा बढी माछाका भुरा निःशुल्क वितरण गरिसकिएको नगरपालिकाका वरिष्ठ कृषि अधिकृत योगेन्द्रप्रसाद यादवले जानकारी दिए ।