समाचार

उत्थानशील समुदाय निर्माणमा रेडक्रसको प्रतिवद्धता

काठमाडौं । नेपालमा सञ्चालित मानवीय सेवाका गतिविधिहरुलाई प्रभावकारी बनाउँदै उत्थानशील समुदाय निर्माण गर्न रेडक्रस अभियानका अंगहरु साझेदारीको नयाँ ढाँचामा सहमत भएका छन् । नेपाल रेडक्रस सोसाइटी र अन्तर्राष्टिय महासँघ र आइसीआरसीको सँयुक्त आयोजनामा हिजो बेलुकी सम्पन्न दुइदिने रेडक्रसको साझेदारी वैठकले नेपालमा समन्वयात्मक र प्रभावकारी सहयोगको लागि साझा नेतृत्वको अवधारणा अघि सारेको हो ।

यसैवीच विभिन्न देशका रेडक्रस सोसाइटीहरुले नेपालमा उत्थानशीलता, लैँगिक समानता, पूर्वतयारी, नगद सहयोग, स्वास्थ्य र जवाफदेहिता जस्ता क्षेत्रमा सहयोग अभिबृद्धि जनाएका छन् । समापन समारोहलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्ष सञ्जीव थापाले भने, नेपाल रेडक्रसको सातौँ विकास योजनाका प्राथमिकता क्षेत्रमा सहयोेग गर्न र दीगो विकासका लक्ष्य हासिल गर्न नेपाल रेडक्रसले साझेदारबाट पाएको सहयोग सह्रानीय छ ।

कार्यक्रमको दौरानमा सहभागी अष्ट्रेलिया, अमेरिका, वेलायत, कोरिया, स्वीजरल्याण्ड, बेल्जियम, क्यानडा, डेनमार्क, फिनल्याण्ड, जापान, थाइल्याण्ड लगायतका मुलुकका रेडक्रसका प्रतिनिधिहरुले नेपालमा रेडक्रसको सँस्थागत विकास र सामुदायिक सहयोगमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका नेरेसोका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

वैठकमा नेपालको अवस्थाबारे विश्लेषण, नेपालमा प्रयोग गरिएका विकासका मोडलहरु,गत साझेदार बैठकका निचोड र प्रगति, नेपाल भुकम्प सहयोगको प्रगति र आगामी दिनको साझेदारीका प्राथमिकता जस्ता क्षेत्रमा गहन छलफल गरिएकोले वैठक सफल भएको धारणा नेरेसोका महामन्त्री देवरत्न धाख्वाले व्यक्त गरे ।

सोे २ दिने वैठकमा १८ वटा विभिन्न देशका रेडक्रस रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधिहरु, नेपाल सरकारका प्रतिनिधि, सँयुक्त राष्ट्रसँघ नियोग तथा विज्ञहरु र रेडक्रस अभियानका अँगहरुका प्रतिनिधि गरी ७१ जनाको सहभागिता रहेको थियो । साझेदार मुलुकका प्रतिनिधिहरु आज फिल्ड अवलोकनका लागि विभिन्न जिल्लाहरुमा गएका छन् ।

कार्यक्रममा नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, आइएफआरसी एशिया प्रशान्त क्षेत्रका उपनिर्देशक मार्टिन फलर र साझेदारी विभाग प्रमुख पियरे क्रेमर तथा अष्ट्रेलियन रेडक्रसका मुकेश सिँले सहजीकरण गरेका थिए ।