लुम्बिनी

‘संविधानलाई नागरिकको जीवनशैली र पद्धतिका रुपमा स्थापित गर्नुपर्ने’

बुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले जनता र राष्ट्रका परिवर्तित आकाङ्क्षालाई पूरा गर्न सकिने बलियो संविधानवादको आधारसमेत तयार भएको बताए ।

चौथो संविधान दिवस २०७५ का अवसरमा आज प्रदेश सरकारको आयोजनामा बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले संविधानलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनशैली र पद्धतिका रुपमा स्थापित गर्नु आवश्यक रहेको समेत बताए ।

मुख्यमन्त्री पोखरेलले मौलिक अधिकार र नागरिक अधिकारका दृष्टिले विश्वस्तरमै समृद्ध नेपालको संविधान बन्न पुगेको भन्दैँ लैङ्गिक समावेशीताका दृष्टिले पनि हाम्रो संविधान समृद्ध बन्न पुगेको बताए । उनले भने, “हामी हाम्रो प्रदेशको विकास र समृद्धिको बाटोबाट सङ्घीय सरकारको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न कृत्सङ्कल्पित छौँ ।”

यसअघि बुटवलस्थित मुख्यमन्त्री कार्यालय परिसरबाट बिहान संविधान दिवसका अवसरमा विभिन्न जातीय, वेषभूषा र संस्कृति झल्काउने झाँकीसहित प्रभातफेरी निकालिएको थियो ।

कार्यक्रममा प्रभातफेरीमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने विभिन्न समूहलाई प्रदेश प्रमुख झा र मुख्यमन्त्री पोखरेल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए । बुटवल वडा नं ५ को सत्य साइ केन्द्रको झाँकी प्रथम, बुटवल–२ स्थित नेवा पुंचः द्धितीय, बुटवल १७ स्थित थारु समुदायको झुमरा नाच तृतीय र शान्ति टोल विकास समिति बुटवल–८ लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।