राजनीति

गणेशमानको त्याग र साहसको अनुसरण गरिनुपर्ने

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको त्याग र साहसको अनुसरण गरिनुपर्नेमा जोड दिइएको छ ।

नेता सिंहको २१ औँ स्मृति दिवसका अवसरमा नेपाल तरुण दल काठमाडौँले आज यहाँ आयोजना गरेको ‘नेपालको प्रजातन्त्र र आर्थिक विकास’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिबाट फाइदा लिने चाहना राख्नेले अहिल्यै छोडेर अन्य पेशा व्यवसायमा आबद्ध हुन अनुरोध गरे ।

“सेवा गर्ने भावना भएकाले राजनीतिमा लाग्ने हो, गणेशमान सिंहले राजनीतिमा लाग्दा उनलाई नपुग्ने केही थिएन, देश र जनताको सेवा गरौँ भन्ने भावनाले लाग्दा सक्रिय राजनीतिक जीवनको आधा समय जेल र प्रवासमा बिताउनुभयो”, पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने ।

कार्यक्रममा काँग्रेस काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँ, पूर्वसांसद दीपकप्रसाद कुइँकेल, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई र महासचिव भुपेन्द्रजङ्ग शाही, प्रदेशसभा सदस्यद्वय जीवन डङ्गोल र छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, दलका काठमाडौँ अध्यक्ष कृष्णजी खड्काले नेता सिंहको प्रजातन्त्र पुनःस्थापनापछि आर्थिक विकासमा ध्यान दिनुपर्ने विचारलाई पार्टीले बेवास्ता गर्दा काँग्रेस अहिलेको अवस्थामा पुगेको धारणा राखे ।