गण्डकी प्रदेश

सहरी विकास योजना बनाइदै

म्याग्दी । बेनी नगरपालिकाको एकीकृत शहरी विकास योजना तयार पारिने भएको छ । शहरी विकास तथा भवन विभागको प्राविधिक सहयोगमा नगर क्षेत्रको एकीकृत सहरी विकासका लागि योजना तयार पार्न लागिएको हो ।

योजना तयार पार्न मङ्गलबार भएको कार्यक्रमपछि नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा नगरस्तरीय एकीकृत सहरी विकास योजना तर्जुमा समन्वय समिति गठन भएको छ । इञ्जिनीयर विमलरञ्जन कार्की सदस्यसचिव रहेको समितिमा नगर उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुसाललगायत दशवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र गौरी थापा सदस्य रहेका छन् ।

योजनामा नगरपालिका क्षेत्रका हालको सडक, खानेपानी, ढल निकास, भवनलगायत पूर्वाधारको अवस्था र आवश्यकता समावेश गरिनेछ । नगरपालिकाका दश वडालाई चार समूहमा विभाजन गरेर बुधबारदेखि योजना निर्माणका लागि वडास्तरबाट सुझाव सङ्कलन गरिने नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए । योजना निर्माणपछि नगरक्षेत्रमा पूर्वाधार विकासलाई दिगो, व्यवस्थित र दीर्घकालीन बनाउन सहयोग पुग्ने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए ।

सिकाइ उपलब्धिमा सुधार

कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र बालमैत्री शिक्षण विधि अपनाएपछि म्याग्दीको उत्तरी क्षेत्रका विद्यालयको सिकाइ उपलब्धिमा सुधार आएको छ । अन्नपूर्ण गाउँपालिकाको हिस्तान, राम्चे, शिख, घार, नारच्याङ, दाना, भुरुङ तातोपानी र दोवाका ३६ सामुदायिक विद्यालयले कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र बालमैत्री शिक्षण विधि अपनाएका छन् ।

आधारभूत तहका कक्षा कोठाका भित्ता, झ्याल, बीच भागमा रसी तानेर कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, वाक्य लेखेर झुण्ड्याइएको छ । पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई गीत, नृत्य र खेल खेलाएर रमाइलो वातावरणमा पढाउने गरिएको छ । साना बालबालिकाको पढाइप्रति रुचि बढेर सिकाइमा सुधार भएको हिमाञ्चल मावि नाङ्गिका प्रअ रमन पुनले बताए ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार विसं २०६९ देखि बालमैत्री शिक्षण विधि लागू भएका विद्यालयको सिकाइ उपलब्धिमा पाँचदेखि १४ प्रतिशत वृद्धि भएको छ । शैक्षिकसत्र २०६९ मा आधारभूत तहको सरदर सिकाइ उपलब्धि ५२।८३ प्रतिशत भएको छ । मुक्तिमार्ग मावि घारअन्तर्गतका विद्यालयको औसत सिकाइ उपलब्धि २०७४ मा ६५।६ प्रतिशत पुगेको छ ।

आदर्श मावि रिमा स्रोत केन्द्रअन्तर्गतका विद्यालयको औसत सिकाइ उपलब्धि ५६।८८ प्रतिशतबाट बढेर ७०।४८ प्रतिशत भएको छ । यसैगरी २०७२ मा ५७।७ प्रतिशत सरदर सिकाइ उपलब्धि भएका सर्वोदय मावि भुरुङ तातोपानीअन्तर्गतका विद्यालयको सरदर सिकाइ उपलब्धि विसं २०७४ सम्ममा चार प्रतिशतले बढेर ६१।१८ प्रतिशत पुगेको छ ।

एकाइका प्रमुख दलबहादुर थापाले शैक्षिक सामग्री निर्माण र प्रयोग गरेर गरिएको शिक्षण विधि प्रभावकारी देखिएको बताउँदै अन्य विद्यालयमा पनि विस्तारको तयारी भएको जानकारी दिए । शिक्षक, शिक्षिका र विद्यार्थीसँगै नाचगान र खेलेर पठनपाठन गराउँदा वातावरण रमाइलो हुने गर्छ ।

शिक्षक र विद्यार्थी मिलेर कक्षा कोठामा पाठको सन्र्दभअनुसारका सहयोगी शैक्षिक सामग्री तयार गरेर प्रदर्शन गर्छन् । शिक्षक, विद्यार्थीमा सिर्जनशीलताको विकास भएको आदर्श मावि रिमाका स्रोतव्यक्ति भरत पुनले बताए । “विद्यार्थीले नबुझेको र बिर्सिएको कुनै विषयमा कक्षा कोठामा प्रदर्शन गरिएको सामग्रीबाटै सिक्ने अवसर पाएका छन्”, स्रोतव्यक्ति पुनले भने ।

परम्परागत शिक्षण विधिको तुलनामा शैक्षिक सामग्रीको प्रदर्शनी विधि सिकाइ उपलब्धि सुधारका लागि प्रभावकारी देखिएपछि शैक्षिकसत्र २०७५ देखि रघुगङ्गा गाउँपालिकाको अमर मावि स्रोतकेन्द्रका १८ विद्यालयमा विस्तार गरिएको छ । कार्यक्रम लागू भएका ५४ विद्यालयमा दुई हजार ९६१ विद्यार्थी छन् भने ७० विद्यालयमा कार्यक्रम विस्तार गर्ने संस्थाको योजना छ ।

श्रमदान अभियान

एक हप्ताअघि कालीगण्डकी नदीमा आएको बाढीले निर्माणाधीन पक्की पर्खाल बगाएपछि कटानको उच्च जोखिममा परेको बेनीबजार संरक्षणका लागि श्रमदान अभियान सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको अगुवाइमा कालीगण्डकीले कटान गरेको ठाउँमा तटबन्ध निर्माणका लागि श्रमदान अभियान सञ्चालन गरिएको हो । थप कटान हुन नदिन बजारवासीलाई श्रमदानमा सहभागी गराइएको बेनपा–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले बताए ।

बेनीबजार संरक्षण तथा नदी नियन्त्रण उपभोक्ता समितिले तटबन्धका लागि ९५ थान तारजाली उपलब्ध गराएको छ । तटबन्ध निर्माण गर्न बजारवासीका साथै नेपाली सेना र प्रहरीले पनि सहयोग गरेका छन् । संविधान दिवसको अवसरमा मङ्गलबार कर्मचारी र विद्यार्थीले पनि ढुङ्गा ढुवानी र तारजाली भर्ने कामका लागि श्रमदान गरेका छन् ।

निर्माणाधीन अवस्थामा रहेको करीब १५० मिटरभन्दा बढी पक्की पर्खाल बगाउँदा रु चार करोडबराबरको क्षति पुग्नुका साथै जिल्ला सदरमुकाम बेनीबजार कटानको जोखिममा परेको छ । कमसल निर्माण सामग्रीको प्रयोग, गलत डिजाइन र ढिलासुस्तीका कारण निर्माणाधीन पर्खाल भत्किएकाले छानबिन गर्नुपर्ने बजारवासीको माग रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले बताए।

तत्कालीन जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङमार्फत सञ्चालित बेनीबजार संरक्षण योजनाअन्र्तगत कालीगण्डकी किनारमा ३८० मिटर पक्की पर्खाल निर्माण गर्न खड्काकृष्ण जेभीले रु पाँच करोड आठ लाख ३२ हजारमा ठेक्का सम्झौता गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले निर्माणाधीन पर्खाल भत्किनुको कारण पत्ता लगाउन सिँचाइ विकास तथा जलाधार संरक्षण कार्यालयलाई अध्ययनको निर्देशन दिएको छ । थप क्षति हुन नदिन आवश्यक संरक्षणको काम शुरु गरेको बेनी नगरपालिकाले दीर्घकालीन योजनाका लागि पहल गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए।