बाग्मती

शङ्खधर उद्यानको आम्दानीमा वृद्धि

काठमाडौँ । रत्नपार्कस्थित शङ्खधर उद्यान तथा रानीपोखरी एकाई कार्यालयले आव २०७४/७५ मा रु एक करोड २७ लाख ४५ हजार आम्दानी गरेको छ ।

वातावरण व्यवस्थापन विभागअन्तर्गत रहेको उक्त पार्कले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष झण्डै रु १८ लाख आम्दानी वृद्धि गरेको हो । आव २०७३/७४ मा सो कार्यालयले रु एक करोड नौ लाख ४८ हजार रकम सङ्कलन गरेको थियो ।

कार्यालयले साधारण नेपाली अवलोकनकर्तासँग रु २५ र विद्यार्थीसंग रु १५ उद्यान प्रवेश शुल्क लिदैं आएको छ । त्यस्तै कार्यालयले परिचयपत्र हेरेर वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई उद्यानमा निःशुल्क प्रवेश गराउने व्यवस्था गरेको छ । एशियन मुलुकका अवलोकनकर्तालाई रु ५० र तेश्रो मुलुकका अवलोकनकर्तासँग रु ७५ लिँदै आएको छ ।

हाल उद्यानमा विभिन्न गीतका भिडियोलगायत चलचित्रसमेत छायाङ्कन गरिँदै आएको छ । कार्यालयले गीतको भिडियो खिच्नका लागि प्रतिभिडियो रु पाँच हजार उठाउँदै आएको छ । नेपाली फिचर चलचित्रका लागि रु १० हजार लिँदै आएको छ भने विदेशी चलचित्र छायाङ्कनका लागि रु २० हजार लिँदै आएको छ ।

रत्नपार्कका रुपमा चिनिँदै आएको उक्त उद्यान पहिले अस्तव्यस्त थियो । नेपाल सरकारले विसं २०७२ असार महीनादेखि सर्वसाधारणका लागि व्यवस्थित बनाएर उक्त उद्यान खुल्ला गरेको थियो । आर्थिक वर्ष २०७२/७३ मा उद्यानमा रु ८५ लाख २४ हजार सङ्कलन भएको उद्यानका एकाई प्रमुख हरिशरण केसीले बताए ।

उद्यानमा दैनिकरुपमा एक हजारदेखि एक हजार २०० सम्मले अवलोकन गर्ने गरेको उनले बताए । यस आर्थिक वर्षमा उद्यानभित्र बालबालिकाका लागि थप भौतिक पूर्वाधारको व्यवस्थालगायत पार्कभित्र थप बार लगाउने योजना बनाएको प्रमुख केसीले जानकारी दिए ।

एक वर्षअघि सम्म रत्नपार्कका रुपमा परिचित उक्त उद्यानलाई एक वर्षअघि मात्र शङ्खधर उद्यानको नाम दिइएको थियो । दैनिकरुपमा उक्त उद्यान बिहान ८ देखि ६ बजेसम्म खुल्ला गरिँदै आएको छ ।