समाचार

लोकतन्त्र मेला आयोजना हुने

काठमाडौँ । संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा लोकतन्त्र मेला आयोजना हुने भएको छ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा यही असोज ४ गतेदेखि ६ गतेसम्म विश्वसम्पदा सूचीको ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा मेला आयोजना हुनेछ । ‘समावेशी लोकतन्त्र:  समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलो पटक हुने सो मेलाले बहुदलीय संस्कृतिको विकास र समावेशी लोकतन्त्रलाई थप प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।

मेलालाई सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका चारै दलले सहकार्य गरेका छन् । मेलामा डेनमार्क, बेलायत, केन्या, भारत, पाकिस्तानलगायतका देशका सांसदले भाग लिने छन् । मेलाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले मेलामा राजनीतिक दलहरुका प्रदर्शनी, संविधान विशेष कक्ष, विविध संस्कृतिका कला तथा खाद्य प्रदर्शनीसमेत रहने जानकारी दिए । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संयुक्तरुपमा मेलाको उद्घाटन गर्नेछन् ।

मेलाका अवसरमा समावेशी लोकतन्त्र : राजनीतिमा महिला नेतृत्व, २१ औँ शताब्दीमा लोकतन्त्र, उत्कृष्ट संसदीय अभ्यास तथा कानून निर्माण प्रक्रिया, २१ औँ शताब्दीमा सङ्घीय लोकतन्त्र तथा शक्ति विकेन्द्रीकरण विषयमा शीर्ष नेतृत्वले सम्बोधनसमेत गर्ने छन् । पत्रकार सम्मेलनमा सभापति गुरुङले संविधानका विशेषतालाई जनताका माझ पु¥याउन मेलाले सहयोग पु¥याउने विश्वास व्यक्त गरे।