लुम्बिनी

सडक निर्माण विवाद सल्टाउन आग्रह

नेपालगञ्ज । नेपालगञ्जदेखि राप्तीपारी नरैनापुर गाउँपालिका कट्कुइयाँसम्म निर्माणाधीन हुलाकी राजमार्ग नक्साङ्कनमा भएको विवाद सुल्झाउनका लागि पहल थालिएको छ ।

उक्त राजमार्गअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियास्थित सडकखण्डमा सर्भेक्षण र नापी गरिए पनि सो विपरीत काम अघि बढाइएकाले विवाद बढ्न गई अवरोध भएको थियो । सरकारी लगानीको हुलाकी सडक आयोजनाले ४४ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर २०७३ फागुनदेखि निर्माण थालेको थियो ।

निर्माण २०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा रहेपनि उक्त आयोजना, निर्माण कम्पनी र स्थानीय जग्गाधनीबीच नक्साङ्कनकै विवादका कारण गत बैशाखदेखि निर्माण ठप्प हुनाका साथै द्वन्द्व बढ्न सक्ने भएकाले जिल्लास्थित क्रियाशील संवाद समूहले संवाद प्रक्रिया अघि बढाउँदै आएको हो ।

स्थानीय जग्गाधनी, सरोकारवालालगायतसँग संवाद र सहजीकरण गर्दै आएको उक्त समूहले बाँके क्षेत्र न १ (क) का प्रदेशसभा सदस्य कृष्णा केसी सहित भौतिक पूर्वाधार विकास मन्त्रालयमा उक्त विषयमा ज्ञापनपत्र बुझाएको छ ।सडक नक्साङ्कनको विवाद बहुपक्षीय र सरकारसँग जोडिएको कानूनी र प्राविधिक विषय भएकाले सोहीअनुसारको पहल गरिनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

स्थानीयस्तरमा थालिएको संवाद प्रक्रियाले विवादलाई संवादको स्थितिमा ल्याए पनि सार्थक र स्थायी निकासका लागि राजनीतिक दल र सरकारले नै अविलम्ब पहल गर्नसमेत सुझाइएको छ ।
प्रदेशसभा सदस्य केसीले नक्साङ्कन विवाद सम्बोधन हुनेगरी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नक्साङ्कनबमोजिम नै सडक निर्माण गर्ने गरी त्यस भित्रका जग्गाधनीलाई मुआब्जा र जग्गा फिर्ताका लागि प्रक्रिया अघि बढाउन सकिने उनले आश्वासन दिए।
उक्त विषयमा प्रदेशका अन्य सम्बद्ध मन्त्रालयका साथै केन्दीयस्तरमा , शहरी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई पनि जानकारी गराइसकिएको जनाइएको छ ।

हुलाकी राजमार्गको पूर्व र पश्चिमतर्फ सडक ग्राभेल गरिसकिए पनि सो सडकखण्डको ३०० मिटर बाटोमा खाल्डाखुल्डी छ । निर्माण रोकिएपछि यात्रुलाई आवातजावतमा समस्या पर्नुका साथै स्थानीय बासिन्दा पीडित भएकाले अविलम्ब निकास खोज्न चौतर्फी दबाब बढ्दै आएको छ ।