गण्डकी प्रदेश

नाग्लीवाङमा तामसी भोजन चल्दैन

कुश्मा । एक्काइसौँँ शताब्दीमा आइपुग्दा पनि वास्तविकता सुन्दा अचम्म लाग्न सक्छ तर अचम्म नमान्नुहोस्, जलजला ८ (साविक नाग्लीवाङ ७) शालिग्रामधामस्थित गाउँमा आजसम्म पनि तामसी भोजन गरिँदैन ।

मासु बिनाको भोजन नै नहुने वर्तमान समयमा सात्विक भोजन गर्ने गाउँ फेला पार्न कठिन भएपनि शालिग्रामधामका ४५ घरधुरीले भने अहिलेसम्म सात्विक भोजन गरेरै निर्वाह गर्दै आएका छन् ।

हत्या, हिंसा, काटमार निषेध गरिएको उक्त गाउँका सबै घरधुरीका बासिन्दा आफ्नो भान्सामा लसुन र प्याससमेत प्रयोग गर्दैनन् । व्यावसायिक तरकारीखेतीको उच्च सम्भावना रहेको सो ठाउँमा लसुन र प्याजकाको खेतीसमेत गरिएकोे छैन ।

“सबैखाले तरकारी खेती गरिन्छ तर लसुन र प्यास नखाने भएकाले सोको खेतीपातीसमेत गरिएको छैन ।” जलजला–८ नाग्लीवाङका हरिनारायण रेग्मीले भने, “यहाँका बासिन्दा हिन्दू धर्मभित्रको वैष्णव सम्प्रदायसँग नजिक भएकाले काटमार र लसुन प्याजसमेत सेवन नगरेका हुन् ।”

“हिंसारहित गाउँ बनाउनका लागि शालिग्राम उपाध्याय (शालिकराम गुरु) को ठूलो देन छ ।” जलजला–७ निवासी डिल्लीराम रेग्मीले भने, “हामी हिंसारहित समाज निर्माण गर्नुपर्छ भन्ने मान्यतामा छौँ र यसका लागि हाम्रो गाउँ सबैका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।”

साविक धौलागिरि अञ्चल सदरमुकाम बागलुङबजारदेखि पूर्व कालीगण्डकीपारिको सो स्थान हिंसारहित गाउँ मात्र नभएर प्राकृतिक भूवनोटले समेत निकै मनमोहक छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण पल्लो नाग्लीवाङमा व्यावसायिक कृषिको समेत प्रशस्त सम्भावना छ । ग्रामीण रहनसहन, बोलीमा सरलता, चेहरामा प्रसन्नता देखिने यहाँका अधिकांश स्थानीयवासीको दैनिकी भने कृषिमै बित्छ ।

धर्म, संस्कृति, रीतिरिवाज र चालचलन अध्ययन गर्नेहरू यहाँ प्रशस्त छन् अहिले पनि यहाँका दर्जन बढी रेग्मीबासी संस्कृत शिक्षा अध्ययन/अध्यापनका लागि बागलुङ, पर्वतको कुश्मा, पोखराको विन्ध्यवासिनी, काठमाडौँ, भारतको वानरस, दिल्ली, अयोध्यालगायतका ठाउँमा छन् ।