लुम्बिनी

बाँके जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ भवनबाट सेवा शुरु गरेपछि सेवाप्रदायक कर्मचारी र सेवाग्राहीलाई सहज भएको छ ।

पुरानो भवनको उत्तरतर्पको खाली जग्गामा रहेको आधुनिक शैलीको भवनमा फराकिला कोठा भएकाले सेवा दिने र लिने दुवैलाई सहज भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । “नयाँ भवनमा प्रतिक्षालयसमेत भएकाले अब सेवाग्राहीलाई सहज हुन्छ” प्रजिअ भुजेलको भनाइ छ । कार्यालय नयाँ भवनमा सरेपछि पुरानो भवनमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, इलाका प्रशासन कार्यालय र नरैनापुरको सम्पर्क कार्यालय राखिएको छ । यसअघि इलाका प्रशासन कार्यालय नरैनापुरको सम्पर्क कार्यालय नेपालगञ्जको पुरैनापुरमा थियो । पुरानो भवनमा इलाका प्रशासन कार्यालय अतिरिक्त र प्रजिअ तथा सुरक्षागार्डको आवासगृह रहेको छ ।

केन्द्रीय पुरातात्विक विभागको टोलीले केही अघि पुरानो भवनको अवलोकन गरेपछि भत्काउन नपर्ने भन्दै मर्मत गर्नुपर्ने ठहर गरेको छ । प्रजिअ भुजेलले मुख्य भवन नभत्काइए पनि छुट्टै रहेका जीर्ण भवन केही दिनभित्र भत्काउने तयारी गरिएको बताए ।