बाग्मती

वन्यजन्तुको क्षति न्यूनीकरणका लागि पर्खाल

कावासोती । राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुको क्षति रोक्नका लागि पक्की पर्खालसहितको जाली लगाउन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले धनजनको क्षति पु¥याएको भन्दै नवलपरासीको विभिन्न स्थानमा पर्खालसहितको जाली लगाउन थालिएको हो ।

निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले वर्षेनी ठूलो मात्रमा अन्नबालीमा क्षति पु¥याउनुका साथै घरमा रहेका चौपायालाई समेत आक्रमण गर्न थालेपछि यसलाई रोक्नका लागि पर्खाल निर्माण थालिएको हो । वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिसमेत हुने गरेको कावासोती नगरपालिका–७ का बालकृष्ण रिजालले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका गाउँमा वन्यजन्तु प्रवेश गरी धान, मकै, गहुँ, विभिन्न कोशेबाली नष्ट गर्ने गरेका छन् । वन्यजन्तुले क्षति पु¥याएको भन्दै अहिले कावासोती नगरपालिका पिठौली, सा“ढ, अमलटारीलगायतका विभिन्न स्थानमा पर्खाल निर्माण गर्न लागिएको छ ।

नगरपालिकाले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि गत आवमा मात्र रु ७० लाख बजेट विनियोजन गरी १५०० मिटर क्षेत्रमा पर्खालसहितको जाली लगाएको छ । नगरपालिकाले वडा नं ७, १०, ११, १२, १३, १५ र १७ मा वन्यजन्तुलाई बस्ती प्रवेशमा रोक्नका लागि जाली लगाउन लागेको नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताए । मध्यवर्तीले पनि शान्तिकुञ्ज वनक्षेत्रमा २२० मिटरमा पर्खाल निर्माण गरेको छ ।

नगरपालिकाले यस आवमा पर्खाल निर्माणका लागि रु ८० लाख विनियोजन गरेको छ । नगरपालिकाअन्तर्गत मात्र कम्तीमा सात किलोमिटर क्षेत्रमा पर्खाल निर्माण गर्नुपर्ने देखिएको नगर प्रमुख पुनले बताए । मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीयवासीको प्रमुख समस्याका रूपमा वन्यजन्तुले पु¥याउने धनजनको क्षति भएको गुनासो आएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले सोहीअनुसार बजेट विनियोजन गर्दै आएको उनले बताए।

यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतार लगाइएकामा त्यसलाई समेत नाघेर तथा चुँडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पक्की पर्खालसहितको जाली निर्माण थालिएको प्रमुख पुनले बताए । पर्खाल तीन फिट अग्लो हुनेछ भने त्यसमाथि तीन फिट अग्लो जाली र त्यसमाथि दुई का“डेतार राखिने छ ।